कौरव खत्री / बागलुङ,माघ ३ ।
बागलुङको बडिगाड गाउँपालिकामा २ दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । बडिगाड गाउँपालिकाको आयोजना, नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल पोखरा तथा धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा ग्वालिचौर स्वास्थ्य चौकीमा सुरु भएको शिविरको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन शत्रमा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले पालिका भित्र रहेका नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको उपचार र निःशुल्क रुपमा मोतियाबिन्दुको अप्रेशन गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले शिविरले यही उपचारका लागि कयौँ पैसा खर्च गरेर सहर बजार जानुपर्ने बाध्यताकाबीच सेवा प्रदान गरेको बताउनुभयो ।
निःशुल्क आँखा शिविरको पहिलो दिन आज २ सय ३३ जनाले सेवा लिएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसीले जानकारी दिनुभएको छ । जसमध्ये १ सय ११ जनालाई चस्मा वितरण, १ सय १२ जनालाई औषधी वितरण र ३० जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
शिविरमा डा। अनिल अधिकारीको नेतृत्वको टोलीले सेवा दिइरहेको छ । शिविर बुधबार सकिनेछ । आँखा शिविरमा बडिगाड गाउँपालिका संगै छिमेकी ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिकाका स्थानीयहरु समेत पुगेका थिए ।
शिविरको पहिलो दिन उद्घाटन सत्रमा बडिगाड गाउँपालिका उपाध्यक्ष्य भिमसेन वन, बडिगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, वडा न ५ का वडा अध्यक्ष बिष्णु प्रसाद आचार्य, नेपाल नेत्र ज्योती संघ बागलुङ शाखा धवलागिरी आँखा अस्पताल बागलुङका अध्यक्ष बिन्दुसागर राज भण्डारी, अप्थाल्मिक अफिसर गोबिन्दराज योगि, लगायतको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)