बुटवल,पुस ६-
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको यात्रा सुरक्षित गर्नको लागि सुरक्षित यात्रा नेपालले व्यक्तिगत सुरक्षा सामाग्री वितरण सुरु गरेको छ ।
सुरक्षित यात्रा नेपालको सुरक्षित यात्रा अभियान अन्तरगत कोरोना भाईरस (कोभिड–१९) बाट सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा सामाग्री मास्क तथा भाईजर (फेस सिल्ड) वितरण सुरु गरिएको हो ।
सोमबारदेखि सुरु भएको यो अभियान बुधबारसम्म सञ्चालन गरिने छ भने बिहान ५ बजेदेखि राती ९ बजेसम्म वितरण गरिने सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासेले जानकारी दिनुभयो । उक्त अभियानको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले शुभारम्भ गर्नुभएको हो ।
बुटवलबाट बस छुट्ने नयाँ बसपार्क र ट्राफिकचोकबाट व्यक्तिगत सुरक्षा सामाग्री मास्क तथा भाईजर (फेस सिल्ड) वितरण हुनेछ ।
त्यस अवसरमा बोल्दै मन्त्री चौधरीले अभियानले यात्रुले व्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गर्ने बानीको बिकास हुनु पर्ने भनाई राख्नुभयो । सरकारले हवाई यातायातमा जस्तैगरी सडक यात्रायातमा पनि व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोगलाई अनिवार्य गर्नुपर्ने वक्ताहरुको भनाई प्रति मन्त्री चौधरीले बानिको बिकास नै यसको महत्वपूर्ण पाटो भएकाले सरकारले जारी गरेको व्यक्तिगत स्वास्थ्य सुरक्षा प्रोटोकलको पालनामा सबैले ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै सुरक्षित यात्रा नेपालका संरक्षक अर्जुन रानाभाटले सरकारले हवाई यातायातलाई मात्रै यातायात सेवा मानेको बताउँदै सडक यातायातलाई पनि यातायात सेवा मान्ने हो भने सडक यातायातमा यात्रा गर्ने यात्रुलाई पनि व्यक्तिगत स्वास्थ्य सामाग्रिको प्रयोगलाई अनिवार्य गर्ने गरि व्यबस्था गर्नुपर्ने भनाई राख्नुभयो ।
कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिएसंगै गत चैतदेखि सुरु गरेको लकडाउन र लकडाउन पछि यातायातमा लागु गरेको जोर बिजोर प्रणाली हालै अन्त्य भएको छ ।
कोरोना भाईरसको संक्रमण फैलिरहँदा यसले मानव स्वास्थ्यमा अझै प्रतिकुल हुने भएकोले त्यसबाट आउन सक्ने सम्भावित जोखिम हुन नदिनको लागि अभियान फलदायी हुने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।त्यस्तैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अभियानले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको स्वास्थ्य सुरक्षामा प्रभावकारी हुने र जनचेता समेत अभिबृद्धि गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेको अध्यक्षतामा भएको कार्यक्रममा तायाता मजदुर तथा व्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, संस्थाका महासचिव प्रकाशकुमार नेपाल, सदस्य दिपक ढकाल लगायतले भनाई राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)