बुटवल,पुस २५ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अभ्यासको क्रममा रहेको ६ बर्षे शिशुलाई ठिक छैन भन्न नमिल्ने बताएका छन् ।
बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रमपछि पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले संघीयता कार्यान्वयनमा आएको भर्खर ६ बर्ष मात्रै भएकोले अहिलेकै अवस्थामा संघीयता ठिक छैन भन्न नमिल्ने बताएका हुन् ।उनले विकास निर्माणका लागि सरकारसँग र कानुन निर्माण मा प्रदेश सभासँग समन्वय गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
स्थानीय तह संघीयताको जग भएको भन्दै सभामुख घर्तीले अधिकांश स्थानीय तहले कानुन नबनाई कार्यबिधिबाट सञ्चालन भएको पाइएको बताए । यसअघि भएको अन्तरक्रियामा उपसभामुख मेनुका खाण केसीले स्थानीय तह आफैमा ब्यवस्थापिका,कार्यपालिका र न्यायपालिका समेत भएको भन्दैमा कानुन निर्माणमा ध्यानदिनुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संघीयता पुर्ण रूपमा कार्यान्वयन नहुदा संघीयताप्रति प्रश्न उठ्न थालेको भन्दै संघले प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको बताए ।
संघीयता कसैले निगाहबाट प्राप्त भएको नभई जनताको संघर्षबाट प्राप्त भएको भन्दै उनले संविधान मा ब्यवस्था भएका अधिकारहरू नदिदा अराजकता निम्तिएको उल्लेख गरे ।त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरी,बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्याल,सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे,सुद्वोदन गाउपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
सो अवसरमा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले प्रदेश सभा र स्थानीय तहको कानुन निर्माण प्रक्रिया,प्रदेश सभाका कानुन उप सचिव इश्वरी प्रसाद आचार्यले गाउँ सभा नगरसभा सञ्चालन सम्बन्धि कार्यविधि बारे प्रस्तुतिकरण गरेका थिए ।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल,सियारी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी,सुद्वोदन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले आ आफ्नो पालिकाले कानुन निर्माण प्रक्रिया र कानुनको अवस्था बारे प्रस्तुतिकरण गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)