कौरव खत्री /बागलुङ पौष १३।
बागलुङको गल्कोट नगरपालिका वडा नं ९ छिस पिपलडाँडाका ७२ वर्षीय मेरूदण्डका बिरामी भिम बहादुर दर्जीलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।
दर्जी गत मसिंर २५ गते घरयासी कामकाजका लागि छिस डाँडाबारी मोटर बाटोमा हिड्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उनको शरीरको पछाडीको मेरुदण्डको हड्डी भाँच्चिएर उपचारका लागि अस्पताल लगिएको थियो ।
आर्थिक अवस्था कमजोर भएपश्चात उनलाई परिवारले घरमा फर्काएर ल्याएका थिए । उनको उपचारका लागि स्थानीय समाजसेवी ढगिन्द्र सापकोटाले आर्थिक सहयोग संकलन अभियान थाल्नु भएकाे थियाे । स्वदेश तथा विदेश संकलित करिव २ लाख रकम शुक्रवार लक्ष्मीनारायण मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम वरिष्ठ सहयोगदाता पर्शुराम सापकोटा सहित स्थानीय समाजसेवीहरुको उपस्थितिमा घाईते दर्जीका छोरा समीर दर्जीलाई हस्तान्तरण गरिएको हो ।
विरामी दर्जीको उपचारका लागि ठुलो रकम खर्च हुने र घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले स्वास्थ्य उपचारार्थ स्वदेश तथा विदेशमा अभियान थालिएको अभियानकर्ता सापकोटाले बताउनुभयो । उहाँले देश विदेशबाट दर्जीको उपचारका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा लक्ष्मीनारायण मन्दिरका अध्यक्ष ईन्द्रमणी सापकोटा, स्थानीय समाजेवी टिकाराम सापकोटा र चन्द्र सापकोटाको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित हुनुभएका १००८ स्वामी जगन्नाथ आचार्य ज्यूले समेत सोही अवसरमा नगद २ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)