बुटवल,पुस १३ ।
बुटवलको बसपार्कदेखि तीनकुनेसम्म पाँचौ सडक खाना महोत्सव हुने भएको छ ।
बुटवलको पर्यटन प्रवद्र्धन र सुस्ताएको बजारलाई थप चलायमान बनाउने उद्धेश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ संस्करणको सडक खाना महोत्सव गर्न लागेको हो । पुस १४ देखि शुरु हुने महोत्सव १६ गतेसम्म चल्ने छ ।
तीन दिने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताउनुभयो ।बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले महोत्सवले पर्यटन क्षेत्रको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
खाना महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ आर्थिक कारोवार हुने लक्ष्य राखिएको संघका महासचिव अर्जुन थापाले बताउनुभयो । महोत्सव बेलुका ६ बजेदेखि राती १२ बजेसम्म महोत्सव चल्ने छ । मगर, गुरुङ, नेवारी, थकाली लगायत जातीका खानाका परिकार सहित एक सय वटा विभिन्न प्रकृतिका स्टलहरु रहने छन् ।
विभिन्न जातजातीका साँस्कृतिक पहिचान झल्कने झाँकीहरु प्रदर्शन र बुटवलमा रात्रीकालिन बजारको संभावना र चुनौतीका बारेमा समेत महोत्सवमा छलफल हुने आयोजकको भनाइ छ ।२०७५ सालदेखि संघले बुटवलमा सडक खाना महोत्सव संचालन गर्दै आइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न खानाका परिकार र सँस्कृतिहरु प्रदर्शनका लागि आमन्त्रण गरिएको संघले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)