बुटवल,मंसिर २९ ।
रुपन्देहीको बुटवलमा भएको पाँँचौ नेशनल प्याब्सन जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बुटवलको स्कलर्स होम इङलिस बोर्डिङ स्कुलले जितेको छ । राष्ट्रिय निजी आवासिय विद्यालय एशोसियशन (नेशनल प्याब्सन) रुपन्देहीको आयोजनामा भएको जिल्लास्तरीय हाजिरी जवाफमा स्कलर्सहोमका विद्यार्थीले १९ प्रतिस्प्रर्धी विद्यालयलाई पछिपार्दै उपाधि जितेका हुन् । उपाधिसँगै स्कलर्स होमले नगद ६ हजार पाँच सय रुपैयाँ मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको छ ।
यस्तै प्रतियोगितामा सुनगाभा पब्लिक सेकेण्डरी स्कुल मुर्गिया द्वितीय, सगरमाथा आवासिय मावि देवदह तृतीय र देवदह इङलिस बोडिङ स्कुलले सान्त्वना स्थान हासिल गर्यो । उनीहरुले क्रमश ४ हजार, ३ हजार र १ हजार ५ सय नगद मेडल, ट्रफि र प्रमाणपत्र हात पारेको नेशनल प्याब्सनका कोषाध्यक्ष विनोद थापा मगरले जानकारी दिनुभयो ।
नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय ईकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यार्थीमा गुणस्तरीयतावृद्धिका लागि शैक्षिकसँगै अतिरिक्त ज्ञानको पनि उत्तीनै आवश्यक पर्ने भएकाले पाठ्यक्रमभन्दा बाहिरी कुरालाई पनि सिकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षणसँगै अतिरिक्त ज्ञान, सीप सिकाउने कुरामा संस्थागत विद्यालयको भुमिका राम्रो रहेको भन्दै त्यसलाई अझै निरन्तरता दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य बिष्णुप्रसाद पौडेल, देउप्रकाश राई, नेशनल प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष बाबुराम बन्जाडे, लक्ष्मण ज्ञवाली लगायतले विजयी विद्यालय तथा विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो । डेढ दर्जन संस्थागत विद्यालयहरु सहभागि रहेको प्रतियोगिताको संचालन डाक्टर आविस्कार पराजुलीले गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)