बुटवल,मंसिर २६ ।
नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास निर्माणमा ब्यस्त छन् ।
उनी करिब दुई हप्तादेखि भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा लागि परेका हुन् ।जाडो बढ्दै जाँदा अझैपनि भूकम्पपीडितले त्रिपालको भरमा दैनिकी गुजार्न परेपछि उनिहरुलाई सहयोग गर्न भन्दै १३ दिन अघि शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका पूर्ण गाउँमा अस्थायी आवास निर्माणका लागि श्रमदान गर्न समुहसहित त्यँहा पुगेका थिए ।
मंसिर १२ देखि निरन्तर भूकम्प पीडितका लागि अस्थायी टहरा बनाउन व्यस्त छन्। अहिले पूर्ण गाउँमा उनि नेतृत्वको समुहले अस्थायी आवास (टहरा) बनाइरहेको छ । अस्थायी आवास बनाउन श्रमदान मात्रै होइन उनले आवस्यक जस्तापाता, किलाकाँटी, डोरी, कब्जा लगायतका सामाग्री समेत आफैले जुटाएर भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न लागिपरेका छन् । १० दिनदेखि निरन्तर आवास निर्माणको क्रममा रहेको र ५० घर बनाउने उनले नागरिक अनलाइनसंग बताए ।
यसअघि निर्माण सम्पन्न १५ अस्थायी आवास भने प्रभावितलााई हस्तान्तरण भइसकेको उनले बताए ।नेपाली कांग्रेसले यसपालि जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ ।
यसअघि महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता प्रदिप पौडेल लगायतको टोली समेत भूकम्प प्रभावित क्षेत्रमा पुगेर अस्थायी आवास निर्माणका लागि श्रमदान गरेका थिए ।
सोही क्रममा शिवाकोटीलाई काँग्रेसले पूर्ण गाउँमा खटाएको थियो । कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडाँ केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)