गुल्मी रूरू,मंसिर ९ ।
गुल्मी पाल्पा र स्याङ्गजाको संगम स्थल रुरुक्षेत्रमा ऋषिकेशव रथयात्रा शुक्रबार निकालिएको छ ।
पाल्पाको तानसेन नगरपालिका, १४ अर्गली रुरु क्षेत्रस्थित ऋषिकेशव मन्दिरमा कात्तिकको द्वावदशीमा झण्डै ५ सय वर्षदेखि ऋषिकेशको रथयात्रा निकालिँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परसुराम भटराईले जाननकारी दिए । रथयात्रा मन्दिरबाट सुरु भएर गुल्मीको रिडीका साथै पाल्पाको अर्गली बजारसम्म निकालिएको छ ।
रथयात्रामा सयौंको संख्यामा स्थानीयका साथै छिमेकी जिल्लाबाट सहभागिता जनाएका थिए । रुरु क्षेत्र रिडी पुग्ने श्रद्धालु कालीगण्डकीमा स्नान गरेर भक्तजनहरू ऋषिकेशव मन्दिर दर्शन गर्ने गर्छन् ।
प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली ,नेपाली सेनाको दि फेमस महिन्द्रदल गणका गणपति भुपेन्द्र गुरुङ्ग लगायतको उपस्थिति रथयात्रामा रहेको थियो ।
सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरेको भन्ने किवंदन्ती रहेको छ ।
कालीगण्डकी नुहाउन र ऋषिकेश, गायत्रीमाता लगायत विभिन्न देवालयहरूको दर्शन गर्न भक्तजनहरू आउने हुन् । ऋषिकेशव मन्दिर र यस क्ष्ँेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ ।
मणिमुकुन्द सेनवाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषक केन्द्र बनेको छ । रुरु कन्याको जन्मस्थल समेत भएको विभिन्न शास्त्रमा उल्लेख गरिएको मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष दुर्गादत्त रेग्मीले जानकारी दिनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)