बुटवल,कात्तिक ९ ।
भारतको प्रसिद्ध पतञ्जली योग पिठका अध्यक्ष आर्युवेद शिरोमणी आचार्य बालकृष्णले नेपालका जुनसुकै पर्यटकीय स्थानहरुमा भारतीय नागरिकलाई सहज गन्तव्य बनेको बताएका छन् ।
रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर जोडेर सञ्चालनमा रहेको लुम्बिनी केवलकारको टप स्टेशन बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसंगको अन्तरक्रियामा उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल भ्रमणका लागि सहज रहेको बताए ।
उनले नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मीकीको महत्वपुर्ण पावन भूमी रहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर लक्षित कार्यक्रमहरु बनाउन सुझाव दिए ।
उनले धार्मिक पर्यटकीय स्थललाई प्रवद्र्धन गर्न भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर नेपालको पर्यटन प्रवद्र्धनका लागि पहल गर्न सुझाव दिए ।
उनले लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षण गन्तव्य हुने बताए । भारतको उत्तर प्रदेश लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुसँग सीमा जोडिएको प्रदेश भएकाले त्यहाँका जनताका लागि बुटवल र सञ्चालनमा रहेको केबलकारलगायतका सबै खालका पर्यटकीय पूर्वाधारहरु महत्वपुर्ण गन्तव्य बन्ने बताए ।
उनले भारतको उत्तर प्रदेशका जनता केबलकार चढ्न र यस्ता मनोरम प्राकृतिक हिमश्रृंखला जस्ता स्थान र धार्मिक स्थलहरुका लागि बुटवल जस्ता ठाउमा लुम्बिनी केबलकार उनीहरुको पनि आकर्षण बन्ने बताए ।
केबलकारको टप स्टेशनमा बनेको कामाख्या भगवती मन्दिर, प्राकृतिक सौन्दर्य र शीतल वातावरण भारतीय पर्यटकका लागि आकर्षण बन्ने उनको भनाई थियो ।उनले गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउन ४० वर्षपछि पहिलोपटक अवसर मिलेको बताउदै नेपालमा हरेक चाँडपर्वमा शहरबजार पुरै खालि गरेर आफ्ना मान्यजन परिवार संग भेट्न पुग्ने राम्रो संस्कार रहेको बताए । उनले यसरि चाडपर्वका अवसरमा आफन्त परिवार समक्ष पुग्ने परम्परा सनातन संस्कृती र वैदिक परम्पराको राम्रो संस्कार रहेको बताए ।
उनले नवरात्रमा देवस्थानहरुमा चढाइने पशुवली जस्ता हाम्रा सदियौ देखिका परम्परागत, संस्कृतिलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने पनि बताए ।उनले नेपाल र भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक विरासत साझा र अक्षुण रहेको भन्दै दुइ देसका जनता बीचको सम्बन्ध प्रगाढ रही आएको यसलाई कसैले तोड्न नसक्ने बताए ।
आयुर्वेद शिरोमणि आचार्यले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके पर्यटक आगमन बढ्न सक्ने बताए । भारतको पतन्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उनको भनाई छ ।
लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसंगै भारतका जनतालाई लक्षित गरेर पांचतारे होटेल सहित केबलकारमा रु ५ अर्ब लगानी हुने जानकारी गराए । सञ्चालनको ५ महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताए ।
केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरेको र करिब सय जनालाई रोजगारी दिएको बताए । आयुर्वेद शिरोमणि बालकृष्णसंगै उनका नेपाल र भारतका करिब दुई सयजना अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेत कामाख्यादेवी मन्दिरको दर्शन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)