पाल्पा,कार्तिक २ ।
पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेका ८४ वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
पुरुषको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषमा डेंगी, स्क्रबटाइफस लगायत अन्य समस्या देखिएको र उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज २७ गते भर्ना भएर उपचार गराएका थिए । पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट ६ सय बढी संक्रमित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सरकारले डेंगी जाच गर्ने किट नपठाएकाले बिरामीले सास्ती खेप्नु परेको छ । डेंगी सार्ने लामखुट्टेको वृद्धि र विकाससंगै यसवर्ष डेंगी संक्रमण हालसम्मकै उच्च विन्दुमा पुगेको स्वास्थ्य कार्यालय पाल्पाले दाबी गरेको छ । पाल्पाका चार ठूला अस्पतालको तथ्यांक अनुसार हालसम्म चार सय ९६ जनाका साथै निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकहरुमा गरिएको परीक्षणमा हालसम्म करिब २ सय बढीमा डेंगी संक्रमण पुष्टि भएको हुन सक्ने स्वास्थ्य कार्यालय पाल्पाको अनुमान छ ।
पहाडी जिल्ला पाल्पामा उपचारका क्रममा चार जनाको मृत्यु भइसकेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौले पाल्पामा डेंगी बढेपछि स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य शाखाका प्रमुखलाई डेंगी रोग नियन्त्रणका लागि यस विरुद्ध सचेतना फैलाउन छलफल चलाएको छ ।
जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा तथा विभिन्न क्लब र समूहहरुले डेंगु संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतना अभियान चलाए पनि संक्रमणमा कमी नआएको हो ।यसवर्ष पाल्पामा अहिलेसम्मकै उच्च विन्दुमा डेंगी संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीले जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष देशभर ३४ हजार बढीमा डेंगुको संक्रमण देखिएको छ भनेन २० जनाले ज्यान गुमाइसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)