बुटवल,भदौ २० ।
रुपन्देहीको बुटवलबाट संचालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । शान्तिका लागि संचार अभियानद्धारा संचालित टेलिभिजन बिस २०६५ सालको ‘श्रीकृष्णजन्माष्टमी’ का दिन स्थापना भएको थियो । १५ औं वार्षिकोत्सव टेलिभिजनले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउन सुरु गरेको हो ।
आज एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सवको शुभारम्भ समारोहको गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कार्यक्रमको उद्घाटन गर्दै सञ्ंचारकर्मी र संचारगृह संवेदनशिल बन्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अबस्था जटिल र संबेदनशील रहेको भन्दै समाजका लागि सहि सुचना दिनुपर्ने उहाँको भनाइ छ ।
उपमहानगरपालिकाले सबै संचारमाध्यमलाई समान दृष्टिकोणले हेर्ने गरेको बताउँदै बुटवलका सबै संचार माध्यमको स्तरबृद्वि गर्नेको लागि अभिभावकत्व निर्भाहमा भेदभाव नहुने र बजेट समेत बिनियोजन गरेको बताउनुभयो । पाण्डेयले संचारमाध्यम पुर्वाग्राही नभइ विश्वसनियता कायम राखेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले बुटवलले छाडा चौपायाको ब्यवस्थापनको लागि नयाँ कार्यविधि बनाएकोे बताउँदै गौशाला धार्मिक संस्थाबाट संचालनको तयारी गरिएको जानकारी दिनुभयो । प्रदेश स्तरिय गौशाला संचालन गरेर छाडा चौपाया ब्यवस्थापनमा सहज हुने र यसको लागि स्थानीय सरकारले पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यन्यायधिवक्ता प्रध्यापक डाक्टर बुद्व बहादुर थापाले देश अहिले संघीयताको अभ्यासमा रहेकाले प्रदेशमा धेरै कानून निर्माण र संसोधन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । प्रदेश सरकारले मिडिया सम्बन्धी ऐन बनाएको र तत्काल निर्देशिका बनाएर मिडिया मैत्री बनाउने तयारी गरीएको उहाँले बताउनु भयो ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले समस्त दर्शक , बिज्ञापनदाता , शेयर सदस्यहरु र कर्मचारी प्रति शुभकामना ब्यक्त गर्नुभयो । लोकतन्त्रमा संचार माध्यमले सत्य तथ्य सुचना प्रवाह निर्वाध रुपमा गर्न पाउनु पर्ने बताउँदै उहाँले पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा टेलिभिजनले सम्पादकीय स्वतन्त्रतालाई कहिले मर्न नदिने प्रतिबद्धता जनाउनु भयो ।कतिपय संचार माध्यमहरु पनि समाजिक संजालजस्तै भएको आरोप अहिले लाग्ने गरेको बताउँदै सुचना मात्र नभएर तथ्यमा टेकेर खोज पत्रकारितामा टेलिभिजन अग्रसर हुनेमा जोड दिनुभयो ।
विश्व हिन्दु महासंघ रूपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले बुद्ध सामुदायिक टेलिभिजनले समुदायको आवाज बुलन्दै गर्दै आएकोले लुम्बिनी प्रदेशमा लोकप्रिय बनेको बताउनुभयो । टेलिभिजनका संचालन सदस्य रामबहादुर थापाले टेलिभिजनले समुदायका मुद्धालाई नै प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।सल्लाहकार रीता सेन ओलीले सामाजिक संजाल अहिले मिडिया हाउसका मुख्य चुनौती रहेको बताउँदै टेलिभिजनले खोज पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले सामाजिक संजालमा आउने नकारात्मक सुचनाका बाढिले गर्दा मिडिया र राजनीतीक दल प्रभावित भएको बताउनुभयो । मिडिया हाउसले सामाजिक संजालमा आउने नकारात्मक बाढिलाई चिर्दै जानुपर्नेमा जोड दिनुभयो ।
टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीले टेलिभिजनले वार्षिकोत्सवको अवसरमा सप्ताहाब्यापी कार्यक्रमको आयोजना गरेको र सम्पूर्णको साथ आवश्यकता रहेकोमा जोड दिनुभयो । टेलिभिजनका कार्यकारी प्रमुख बिक्रम खड्काले वार्षिकोत्सवको अवसरमा यही भदौ २२ गते सरसफाई , २५ गते गौ संरक्षण बहस , २६ गते स्थानीय तहमा सुशासनको लागि मिडियाको भूमिका अन्तक्रिया र २७ गते हरितालिका तिजको अवसरमा समापन तथा तिज विशेष कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।
टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीले वार्षिकोत्सव समारोह समापनको दिन विभिन्न कलाकारहरुद्धारा लाईभ तिज विशेष कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)