तिलोत्तमा, वैशाख ३१ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरण सुधारका लागि गतसाल २०७९ चैत १ गते बिभिन्न पाँच वटा महत्वपूर्ण घोषणा गर्यो ।
नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान १०० औं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहका बेला नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको थियो ।
खाँणले एकैसाथ वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको वर्गीकरण सुरु गरिएको र गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको घोषणा गरेपछि धेरैले ती घोषणाहरु कार्यान्वयनमा जानेबारे शंका - उपशंका गरेका थिए ।
उहाँले सोही समारोहमा भन्नुभयो -यी पाँचकुराहरु घोषणा मात्रै होइन, प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने हो , यसले वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने छ ।

गुट्खाजन्य पदार्थ बिक्री गरेमा ५० हजारसम्म जरिवाना :
तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय लागु गरेलगत्तै नियम नमान्नेलाई जरिवाना तोक्यो भने बजार अनुगमन पनि गरेको नगरपालिकाले जनाएको छ ।नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री गरेमा ५० हजारसम्म जरिवाना प्रभावकारी रुपमा कार्यान्वयन भएको छ ।
चैत १ गते नगरलाई गुट्खाजन्य मुक्तक्षेत्र घोषणा गरिएको थियो । सोही घोषणा कार्यान्वयनका लागि नगरपालिकाले विज्ञप्ति जारी गर्दै १५ दिनभित्र त्यस्ता पदार्थहरू राखेका पसल तथा डिलरबाट हटाउन आग्रह गरेको थियो ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद अर्यालद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति चैत ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरले गुट्खाजन्य पदार्थ विक्री गरेको भेटिएमा जरिवाना गरिनेछ ।’
नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपियाँ जरिवाना गरिने सूचनामा उल्लेख छ । यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिने भनिएको छ ।
तोकिएको जरिवाना कडाइका साथ लागु भएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । चैत १ बाट वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहरमैलाको वर्गीकरण र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको मध्ये सबै लागु भैरहेका छन् भने केही नीतिगत र प्रकृयागत ढंगले अघि बढेको नगरपालिकाले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य एवं प्रथम तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नेपालले दीगो विकास लक्ष्यका लागि जनाएको प्रतिबद्धता पूरा गराउन पनि सरसफाई अभियान हरेक पालिकाले चलाउनुपर्ने बताउनुहुन्छ ।
उहाँले आफ्नो कार्यकालमा सुरु भएको सरसफाई अभियानलाई निरन्तरता दिएकोमा नगरपालिकाको नेतृत्वप्रति आभार व्यक्त गर्दै उहाँले तिलोत्तमालाई अब तरकारीमा आत्मनिर्भर बनाउँदै प्रारङ्गारिक खेतीमा जोड दिन सुझाव दिनुहुन्छ ।
उपप्रमुख जागेश्वरी चौधरीले आफुहरुकमो सक्रियतामा आम नागरिकको साथ रहेको र तिलोत्तमा हेर्न लायक बनेको बताउनुभयो ।
यी हुन् पाँच घोषणा :
वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान:
तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा बुधबार गरेका पाँच घोषणाहरु मध्ये वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रमुख रहेको छ । नगर प्रमुख रामकृष्ण खाणले वातावरणमैत्री समाजको सिर्जनाद्वारा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान सुरु भएको घोषणा गर्नुभएको हो ।
वातावरण र विपद् व्यवस्थापनको क्षेत्रमा हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गराउँदै नेपाल सरकारले जारी गरेको वातावरणमैत्री स्थानीय शासन प्रारुप—२०७८ मा उल्लेखित वातावरणमैत्री स्थानीय शासनका बाँकी सूचकहरु पूरा गराउने कार्यक्रमहरु आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता नगर प्रमुख खाणले व्यक्त गर्नुभयो ।
उहाँले प्रारूपमा प्रस्ताव गरिएका सूचकहरू हासिल गर्न सम्पूर्ण नगरबासीदेखि नेपाल सरकारका विभिन्न निकाय, प्रदेश सरकार, अन्य स्थानीय तह, विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवम् निजी क्षेत्रबाट यथोचित समन्वय, सहकार्य र प्रोत्साहन प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
हर्न निषेधित नगरपालिका :
सवारीसाधनको हर्नबाट बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गरी वातावरणमैत्री समाजको निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो घोषणासँगै अनावश्यक रुपमा हर्न बजाई नगरको शान्ति भङ्ग गर्ने कार्यलाई निरुत्साहित गरिनुको साथैं एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्नेबाहेकका सवारीसाधनलाई हर्न प्रयोग गर्न निषेध गरिएपछि अहिले बजनारमा हर्न बजेको सुन्न नपाइने बताउनुभयो ।
पशु दर्ता प्रणाली कार्यान्वयनमा :
तिलोत्तमा नगरपालिकाले बुधबारबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
घर–गोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सडकमा पु¥याइरहेको अवरोधले हुनसक्ने दूर्घटना, कृषि बालीको नोक्सानी तथा फोहर नियन्त्रण गर्न पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको नगर प्रमुख खाणले जानकारी गराउनुभयो ।
यसको माध्यमबाट नगरबासीको घर–गोठमा पालिएका सबै पशु चौपायाको लगत अद्यावधिक गरी कुकुरपालन अनुमति पत्र तथा पशुदर्ता प्रमाणपत्र समेत अनलाइनबाटैं लिन सकिने नगरपालिकाले जनाएको छ ।
गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध :
तिलोत्तमा नगरपालिकाले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगरबासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर नगरपालिकामा सबै प्रकारका गुट्खाजन्य पदार्थको बिक्री—वितरणमा प्रतिबन्ध लगाएको छ । यसको अनुगमन भैरहेको छ ।
फोहरमैलाको वर्गीकरण गरेर दिन्छन् उपभोक्ता :
फोहोरमैला संकलन तथा व्यवस्थापन कार्यलाई दीगो र वैज्ञानिक बनाईं वातावरणमैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न तिलोत्तमा नगरपालिकामा फोहरमैलाको स्रोतमैं वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग—अलग रुपमा संकलन गर्ने कार्य भैरहेको नगरपालिकाका प्रम्ख प्रशासकिय अधिकृत नारायण अर्यालको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)