तनहुँ,बैसाख १२ ।
तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई सोही क्षेत्रमा चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्।
वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए। वाग्ले निर्वाचित भएपछि भट्टराईले बधाई दिएका छन्। ‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई।
चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो,’ उनले भने, ‘र, संयोगले तपाईं निर्वाचित हुनुभयो। मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाइँले सक्नुभयो।’
भट्टराईले पदको सपना नदेखे पनि आफूले तनहुँ १ को विकासमा निरन्तर खटेको पनि बताएका छन्।‘तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ। मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु,’ उनले भने, ‘अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।’
मतदाताका अति ठूलो अपेक्षा र भरोसा रहेकाले पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न पनि उनले वाग्लेलाई आग्रह गरेका छन्।
अन्तिम नतिजा हेराैँ:
तनहुँ १ - उपनिर्वाचन
स्वर्णिम वाग्ले -राष्ट्रिय स्वतन्त्र पार्टी विजयी- ३४९१९
गोबिन्द भट्टराई -नेपाली कांग्रेस -२०१२२
सर्वेन्द्र खनाल -नेकपा एमाले -८४८८
शोभा गुरुङ -राष्ट्रिय प्रजातन्त्र पार्टी -२१८
प्रेमबहादुर थापा -मंगोल नेशनल अर्गनाइजेसन -१६६
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)