बुटवल,चैत्र २ ।
लुम्बिनी स्थित मायादेवी मन्दिर प्राङगणमा एकै दिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अल्पकालीन भिक्षुहरुले पहँेलो चिवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरु पालना गर्नुपर्नेछ ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सहआयोजनामा विहिबार मायादेवी मन्दिर प्राङगणमा पाँच सय जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) गराइएको हो ।
अखिल नेपाल भिक्षु महासंघका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालिन भिक्षुका लागि चिवर प्रदान गर्नुभयो । अल्पकालिन भिक्षुहरुले पहेलो चिवर लगाएर बुद्ध धर्मका सय वटा नियमहरु पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरुले पञ्चशिल र अष्टशिलको पालना गर्ने भएपनि अल्पकालिन भिक्षुले २० दिनसम्म पूर्ण रुपमा बौद्ध नियमा आफुलाई रुपान्तरण गर्नुपर्ने छ ।
फागुन २७ गते काठमाडौं र फागुन २८ गते लुम्बिनीमा गरि ५ सय जनाको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिएपनि विहिबार मात्रै उहाहरुले प्रवज्या गरि अल्पकालिन भिक्षुका रुपमा पहेलो चिवर लगाउन योग्य हुनुभएको हो ।
चिवर प्रदान एंव कुलपुत्र प्रवज्या कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय)ले भगवान बुद्धको जन्मस्थलमा अल्पकालिन समयका लागि भएपनि प्रव्रज्यामा सहभागी हुनेहरुलाई स्वागत गर्नुभयो ।
उहाले बुद्ध जन्मेकै देशका नागरिकहरु यसरी बुद्धको शिक्षा ग्रहण गर्नु नै महान कार्य रहेको बताउनुभयो । बुद्ध शिक्षालाई सतही रुपमा मात्रै नभई बुद्धभूमिकै आएर प्रव्रज्या (अल्पकालिन भिक्षु) ग्रहण गरि व्यवहारमै बुझ्नु अत्यन्तै सकारात्मक रहेको उहाको भनाई छ ।
कार्यक्रममा अखिल नेपाल भिक्षु संघका महास्थविर शोभनले भिक्षु संघको निर्देशन अनुसार प्रव्रज्या ग्रहणका लागि देशभरिबाट सहभागी भएकाहरुलाई स्वागत गर्दै बुद्ध शिक्षालाई नजिकबाट चिन्ने र व्यवहारमा अगाल्न आग्रह गर्नुभयो ।
बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि एकैदिन प्रव्रज्या( अल्पकालिन भिक्षु ) कार्यक्रम पहिलो पटक भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले एकै दिन ५ सय जना अल्पकालिन भिक्षु हुने कार्यक्रमले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्ने बताउनुभयो ।
कोभिडअघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार ११२ जना र सन् २०१९ मा एक हजार ११९ जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एंव कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताउनुभयो ।
कोभिडका कारण अहिले संख्या घटाएर ५ सय गराइएको र आगामि दिनमा एकै दिन १० हजारलाई प्रव्रज्या गराईने योजना रहेको शाक्यको भनाइ छ ।
प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्यहरु विश्वराज पौडेल, नेत्रबहादुर शाही, थाई विहारका प्रमुख भिक्षु सोबोध भिक्षु लगायतको उपस्थिती थियो । प्रव्रज्यामा नेपालका २० बढि जिल्लाबाट सहभागिता छ । चैत १७ गते अल्पकालिन भिक्षुहरुको समय सकिनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)