Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको ६४औं स्थापना दिवस : ‘जनप्रतिनिधिहरु सुविधाभोगी नबनाैँ’ : धनराज गुरुङ

बुटवलको ६४औं स्थापना दिवस : ‘जनप्रतिनिधिहरु सुविधाभोगी नबनाैँ’ : धनराज गुरुङ

  • 1.4K
    SHARES

  • बुटवलको ६४औं स्थापना दिवस : ‘जनप्रतिनिधिहरु सुविधाभोगी नबनाैँ’ : धनराज गुरुङ

    बुटवल,फागुन ३  ।

    बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

    बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्रलाई उकास्न प्रयत्न गर्नुपर्ने बताउनुभयो । ‘मुलुक श्रीलंकाको बाटोमा जाने त हैन भन्ने आमचासो र चिन्ता देखिन्छ, उहाँले भन्नुभयो–यस्तो अवस्था मुलुकमा आउन नदिन हामी सबै राजनीतिक दलहरु, जनप्रतिनिधि र उद्योगी व्यवसायीहरुले समेत सामुहिक प्रयास गर्नुपर्ने देखिन्छ ।’

    उहाँले जनप्रतिनिधिहरु सुविधाभोगी हुन नहुने भन्दै मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताउनुभयो । उहाँले संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो । dhanraj gurung.jpg
    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा शहर बनाउने योजनाका साथ अगाडि बढेको बताउनुभयो । उहाँले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर बुटवललाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेको बताउनुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बुटवलले देशमै अगुवाई गरिरहेको बताउँदै अझै अग्रणी शहरका रुपमा स्थापित हुनेतर्फ अग्रसर रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्ने गरी योजना अगाडि सारेको र सबैको साथ जरुरी रहेको बताउनुभयो ।

    कार्यक्रममा निवर्तमान नगर प्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्य, नेकपा एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, नेपाली कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुलगायतले बोल्दै बुटवललाई समृद्ध बनाउने सपना पूरा गर्ने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    स्थापना दिवसको अवसरमा पर्यटन प्रवद्र्धन पुरस्कार, विपद सचेतना पुरस्कार, उत्कृष्ट टोल विकास संस्था र उपभोक्ता समितिलगायतलाई पुरस्कृत गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारीहरु महाशाखा प्रमुख मित्रमणि खनाल, तुलसा अर्याल, कर्मचारीहरु रामप्रसाद अर्याल,  संगीता अर्याल, गुनाकर खनाल, रुक्मागत बस्याल, गंगाधर सापकोटा, कमला भुसाल, गोविन्द पंगेनी, प्रसान्त भट्टराई, टंक आचार्य, सुजाता पन्थी, मीन खनाल, मनिसा रोकाया, हरिकला बेल्बासे, कमल पुरी, विरबहादुर थापालगायत २५ जनालाई सम्मान गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

    बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । उपमहानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम गरेको थियो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology