झापा,माघ ९ ।
प्रदेश १ नम्बरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गरेर कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको छ ।
उहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन साथै भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्देशन दिनु भयो ।
प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न उहाँको आग्रह छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)