बुटवल,पुस २७ ।
लुम्बिनी प्रदेशमा सरकार गठनको प्रकृया अघि बढेको छ । नेकपा एमालेका संसदीय दलका नेता लिला गिरिले आफुलाइ मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्नुभएको हो । प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिएपछि सरकार गठनको काम शुरु भएको हो ।
गिरिको नेतृत्वमा सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको हो ।आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धन सहित २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षर बुझाइएको हो ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिका सांसदहरु र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश गरिएको एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकालले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३÷३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । यो प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ जना सदस्य रहेका छन् । पेश गरिएको कागजपत्र हेरेर ,प्रकृया अनुसार आजै मुख्यमन्त्री नियुक्ति गरिने जनाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)