वालिङ,मङ्सिर १५ ।
स्याङ्जा निर्वाचन क्षेत्र २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिनुभएको छ । उहाँले नेकपा नेकपा एमाले की पद्माकुमारी अर्याललाई एक हजार ३२७ मतले पछि पार्नुभएको हो ।
कांग्रेसका गुरुङले पाँच हजार ३१४ मत पाउनु भएको छ भने एमालेकी अर्यालको तीन हजार ९८७ मत रहेको छ । यस्तै, स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ३८४ मत प्राप्त गर्नुभयो ।
अर्यालको स्थायी बसोबास रहेको वालिङ नगरपालिकाको वडा नं १ मा समेत धनराज गुरुङले १९२ मतको अग्रता लिनुभएको हो । उक्त वडामा पद्मा अर्यालले अग्रता लिने एमालेको भनाइ थियो । शुरुवाती अवस्थामा एक हजार बढिको अग्रता लिनुभएकी अर्याल अहिले पछि पर्नुभएको हो ।
स्याङ्जा २ मा गल्याङ नगरपालिकाको वडा नम्वर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्वर ५, ६, ७,८ र ९ तथा वालिङको वडा नं १ गणना भइसकेको छ भने अहिले वालिङ कै २ नम्वर वडाको मत गणना भइरहेको छ ।
यसैगरी, प्रदेश सभा २ क तर्फ पनि कांग्रेसका भोजराज अर्यालले अग्रता लिइरहनु भएको छ । अर्यालले एमालेका मोहन प्रसाद रेग्मीलाई एक हजार २५५ मतले पछि पार्नुभएको हो ।
अर्यालले पाँच हजार ७०९ मत ल्याउदा रेग्मीले चार हजार ४५६ मत ल्याउनुभएको छ । पद्मा अर्यालको बसोबास रहेको वडा नं १ मा प्रदेश तर्फ कांग्रेसले २७३ मतले अग्रता लिएको छ । स्याङ्जा २ मा एक लाख १६ हजार ७७८ मतदाता मध्ये ७० हजार १९१ मत खसेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)