Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही २ मा पुरानै अनुहार, पुरानै एजेण्डा !

रुपन्देही २ मा पुरानै अनुहार, पुरानै एजेण्डा !

  • 1.1K
    SHARES

  • रुपन्देही २ मा पुरानै अनुहार, पुरानै एजेण्डा !

    बुटवल,कात्तिक २८ ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल २०६४ सालदेखी रुपन्देही क्षेत्र नम्बर २ मा लगातार सांसद छन् । तर पौडेलका यस क्षेत्रका अधिकांस चुनावी प्रतिबद्धता १५ वर्ष अघि र अहिले लगभग उस्तै छ ।

    तर निर्वाचन क्षेत्र बाहिरका कतिपय विकासका योजनाहरुको जस आफूले लिने प्रयास गरेका छन् । त्यस्तै क्षेत्र र जिल्ला बाहिरका विभिन्न सरकारले अघि बढाएका र बढाउन लागेका योजनाहरु आँफूले गर्न लागेको भन्दै आफ्नै क्षेत्र गत चुनावी प्रतिबद्धता पत्रमा समेटेका छन् । आफ्नो पालामा पुरा हुन नसक्ने सपना पनि देखाएका छन् । 

    १५ वर्ष सांसद हुँदा पनि पुरा हुन सकेनन् कतिपय योजना  :

    बुटवलको सुख्खानगर, दिपनगर लगायतका क्षेत्रमा खानेपानीको समस्या छ । गर्मी याममा धारामा पानी आउँदैन । बुटवलको खानेपानीको समस्या हल गर्न बर्षौं अघि झुम्सा खानेपानी आयोजना अघि सारिएको हो । तर यो खानेपानी आयोजना कहिले सम्पन्न हुन्छ कुनै टुंगो छैन ।

    बुटवलमा आधुनिक बसपार्क बनाउने कुरा पनि प्रत्येक जसो निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको छ । यो पटकको चुनावी घोषणा पत्रमा पनि हालको लुम्बिनी बस टर्मिनललाई सिटी बसपार्क बनाएर उपयुक्त जग्गाको खोजी गरि अत्याधुनिक बसपार्क बनाउने भनिएको छ । बुटवलमा नयाँ ठाउँमा बसपार्क बनाउने कुरा पनि १५ वर्ष अघि कै चुनावी एजेण्डा हो ।  

    हरेक जसो चुनावमा तिनाउ पारीको पुरानो बुटवल अर्थात बटौलीको विकास तथा संरक्षणको कुरा पनि उठ्ने गर्दछ । बटौली बजारमा हाम्रा पुर्खाहरु पहाडबाट नुन तेल लिन आउने ठाउँ हो । बुटवलको पुरानो बजारलाई पहिचान दिलाउने गरि बटौलीको मौलिकता कायम राख्नुपर्ने कुरा बेला बेलामा उठिरहन्छ ।

    बटौलीमा अहिले पनि पुराना घरहरु छन् । तर ति जिर्ण छन् । तिनिहरुको संरक्षण गर्ने सक्ने हो भने यहाँको मौलिकता कायम राखी पुरानो बुटवलको पहिचान दिलाउन सकिन्छ । तर पछिल्लो समय बटौली क्षेत्रमा पुराना घरहरु मासिएर नयाँ नयाँ घर बन्ने क्रम बढ्न थालेको छ । जसले बटौलीको मौलिकता लोप हुन सक्ने खतरा छ ।

    यहाँबाट जितेर गएका जनप्रतिनिधिले १०–१५ वर्षको अघि बटौलीको ठोस गुरुयोजना ल्याएको भए बटौलीको पहिचान र मौलिकता कायम गरि पर्यटकिय विकास गर्न सकिन्थ्यो । लगातार यस क्षेत्रबाट चुनाव जितेका जनप्रतिनीधिले यसमा चासो भने दिएनन् । फोहरमैला व्यवस्थापन पनि बुटवलको पुरानो नारा हो । तर अहिलेसम्म हल हुन सकेको छैन । 

    सुकुम्बासी समस्या हरेक चुनावमा नारा बन्ने गरेको छ । संसदीय चुनावै पिच्छे यहाँका उम्मेद्वारहरुले आफूले जिते समस्या समाधान गर्ने बताउँदै आएका छन् । तर एउटै पार्टीको झण्डै दुई तिहाइको सरकार बन्दा पनि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउन सकेका छैनन् । 
    बुटवलको राजमार्ग चौराहदेखी गोलपार्कसम्मको सडक विस्तारको लागि २०७३ फागुनमा ठेक्का लागेको हो । केही महिना अदालतमा मुद्दा परेकाले सडक विस्तारमा अवरोध भयो । तर अदालतले बाटो खोलेपछि पनि बर्षौ सम्म सडक विस्तार हुन सकेन । यात्रुहरुले हिउँदमा धुलो र वर्षामा हिलो सडक बेहोर्नुपर्यो । राजमार्ग चौराहदेखी गोलपार्कसम्म पुग्न निकै सकस हुने गरेको छ । यति लामो समयसम्म सडक अस्तव्यस्थत हुँदा पनि चुनाव जितेर संसदमा पुगेका जनप्रतिनिधिले सडक विस्तार छिटो सक्ने कुनै पहल देखिएन । 
    बुटवलमा ३ कार्यकाल लगातार सांसद भएका एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र यी लगायत तमाम समस्याहरु छन् । जुन चुनावै पिच्छे एजेण्डा बन्ने गर्छन् तर समाधान हुँदैन । 

    क्षेत्र बाहिरका विकासमा पनि जस लिने प्रयास :

    रुपन्देही क्षेत्र नम्बर २ का धेरै योजनाहरु अलपत्र रहेको बेला विष्णु पौडेलले क्षेत्रबाहिरका भएका कामहरुको आफूले जस लिने प्रयास गरिरहेका छन् । यसपटकको चुनावी अभियानका क्रममा उनले जिल्ला भित्र भएका मुख्य विकासका आयोजनाहरु आफ्नै पहलमा भएको दाबी गर्ने गरेका छन् । तर ति आयोजनाहरु पौडेलको निर्वाचन क्षेत्रमा पर्दैन ।

    बुटवल बेलहिया ६ लेनको सडकको केही भाग मात्र रुपन्देही क्षेत्र नम्बर २ मा पर्दछ । बाँकी धेरै भाग क्षेत्र नम्बर ३ को भुगोलमा पर्ने गर्दछ । तर यो ६ लेन सडक आफुले गरेको भन्दै पौडेलले चुनावी प्रचार गर्ने गरेका छन् ।

    रुपन्देहीमा मात्र होइन पूर्वमा रानी–विराटनगर इटहरी, विरगंज–पथलैया, जटइ–जनकपुर–ढल्केवर, र पश्चिममा मोहनापुर–अत्तरीया सडक व्यापारिक मार्गको रुपमा विस्तार भइरहेको छ । यी योजना बुटवल–बेलहिया सँगसँगै तय भएका योजना हुन् । 
    भारत तथा चीनसँग जोडिएका केही नाकामा सवारीधानको आवतजावत बढ्न थालेपछि सरकारले व्यापारिक मार्ग बिस्तार आयोजना अगाडि बढाएको हो । खासगरी महेन्द्र राजमार्गदेखि दक्षिणतर्फका नाकामा दुई लेनको सडकले गाडीको चापलाई धान्न नसक्ने अवस्था रहेकाले आगामी २५÷३० वर्षसम्मको ट्राफिकलाई थेग्न सक्ने गरी व्यापारिक मार्गलाई ६ लेनमा विस्तार गर्ने योजना ल्याइएको हो ।

    यस्ता मार्गको विस्तारले व्यापारिक नाकाहरूबाट सहज रूपमा सामान आयातनिर्यात गर्न सकिने अपेक्षा राखिएको छ । पूर्व र पश्चिमका विभिन्न ठाउँमा सडक विस्तार भएपनि विष्णु पौडेलले ६ लेन सडक पनि आफ्नै पहलमा बनेको दाबी गर्दै चुनावमा मत माग्ने गरेका छन् । 

    ६ लेन सडकसँगै भैरहवाको अन्तराष्ट्रिय विमान स्थाल लगायतका आयोजना पनि आफूले ल्याएको जसरी पौडेलले दाबी गर्ने गरेका छन् । भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना पौडेल सांसद बन्न भन्दा धेरै अघि तय भएको हो । २०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले अन्तराष्ट्रिय विमान स्थल निर्माणको शिलान्यास गरेका थिए । तर विष्णु पौडेलले आँफू सांसद नभएको भए अन्तराष्ट्रिय विमानस्थल बन्न नसक्ने जस्तो गरि प्रचार प्रसार गर्ने गरेका छन् । 
    रुपन्देही बढि जनसंख्या हुनेमा तेस्रो जिल्ला हो । यो जिल्लामा देशकै दोस्रो ठूलो सिमानाका छ ।

    यस्तै विभिन्न पहाडी जिल्लामा जानको लागि बुटवल प्रवेशद्वार मानिन्छ । पुर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगम स्थल पनि भएकाले अन्य जिल्ला भन्दा रुपन्देहीमा  स्वभाविक रुपमा पनि तिब्र विकास भएको हो । भुगोलको सुविधा र स्वभाविक रुपमा भएका धेरै विकासका आयोजनालाई पौडेलले आफूले गर्दा नै विकास भएको भन्दै भ्रम बाँडीरहेका छन् । 

    जिल्ला बाहिरका विकासका सपना पनि बाँड्छन् पौडेल :

    विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ का उम्मेद्वार हुन् । तर उनले क्षेत्र मात्र नभई  जिल्लाबाहिरका सम्म योजना आफ्नो चुनावी प्रतिबद्धता पत्रमा राख्ने गरेका छन् । उनको विगत तथा अहिलेको चुनावका लागि तयार पारेको घोषणा पत्रमा नवलपरासीदेखी कपिलबस्तुसम्मका कुराहरु राखिएका छन् । पौडेलको घोषणा पत्रमा बुटवल नारायणगढ सडक विस्तारको काम आफ्नै पालामा अघि बढेको भन्दै अब बुटवल गोरुसिंहे सडकको विस्तार कार्यपनि छिटै सुरु हुने उल्लेख गरिएको छ ।

    राष्ट्रिय योजनाका रुपमा अघि बढेका यी विकासका आयोजना जुनसुकै सरकार आएपनि निरन्तरता पाउँछन् । त्यस्तै नवलपरासीको त्रिवेणीदेखी कृष्णनगरसम्मका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र बनाउने उल्लेख गरेका छन् । तीन वटा जिल्लामा पार्टीको तर्फबाट आफू मात्र सांसदको उम्मेद्वार भए जसरी पौडेलको प्रतिबद्धता आएको छ । 

    पौडेलको घोषणा पत्र सार्वजनिक कार्यक्रममा एक पत्रकारले बर्दघाटदेखी चन्द्रौटासम्मका उम्मेद्वार बसेर लेखिएको घोषणा पत्र हो कि भन्दै प्रश्न समेत गरेका थिए । तर पौडेलले आफ्नो क्षेत्रको मात्र विकास गर्छु भनेर नहुने भन्दै अरु क्षेत्रसँग जोडिएका आयोजना भएकाले उल्लेख गरिएको प्रष्टीकरण दिए ।

    अघिल्लो पटक बुटवललाई प्रदेशको राजधानी बनाउने मुख्य नाराका साथ पौडेल चुनावमा होमिएका थिए । पौडेलकै पार्टीको सरकार केन्द्र र प्रदेशमा हुँदा राजधानी दाङ सर्यो । अहिले विष्णु पौडेलसँग कुनै नयाँ एजेण्डा छैन । त्यसैले पुराना एजेण्डा दोहोराउँदै र क्षेत्र तथा जिल्ला बाहिरको सपना देखाउँदै मत तान्ने प्रयास गरेका छन् । रुपन्देही २ का नागरिक भने यसपटक लगातार जितिरहेका जनप्रतिनिधि भन्दा फरक अनुहार हेर्न खोजेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology