बुटवल,कार्तिक २२ ।
एमालेउपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताउनुभएको छ । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट बिस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भिर रहेको उहाले बताउनुभयो ।
रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मँगलबार बुटवल उपमहानगरको वडा नम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको बिकाससँगै बस्ति व्यवस्थापनको विषयमा आफू सचेत र गम्भिर रहेको उल्लेख गर्नुभयो ।
विशेष गरी बुटवलमा सुरु गरिएको महत्वकांक्षि बिकास योजना तिनाउ–दानव कोरिडोरका जनतालाई विभिन्न ढँगबाट आतंकित पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले कोरिडोरका नाममा कुनै पनि जनतालाई घरबार विहिन नबनाइने स्पष्ट पार्नुभयो । कोरिडोर क्षेत्रमा पर्ने घर परिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेकोभन्दा थप व्यवस्थित र बिकास पूर्वाधारले सम्पन्न स्थानमा जनताको ईच्छा अनुसार नै व्यवस्थापन गरिने उहाले बताउनुभयो । यसैगरी मोतिपुर औद्योगिक क्षेत्रका प्रभावित जनताहरुलाई समेत व्यवस्थापन गरेर मात्रै काम अघि बढ्ने स्पष्ट पार्नुभयो ।
सिंगो रुपन्देहीलाई बिकासको रोलमोडलको रुपमा अगाडी बढाउने योजना अनुसार काम भएको उहाले बताउनुभयो । रुपन्देहीमा भौतिक पूर्वाधार तथा मानवीय बिकासका लागि विगतदेखि काम गर्दै आएको स्मरण गराउँदै उनले बिकासमा कसैले पनि राजनीति नगर्नसमेत आग्रह गर्नुभयो । साझा मानसिकता र साझा प्रयासले मात्रै बिकासमा फड्को मार्ने काम सम्भव भएको उल्लेख गर्दै पौडेलले बिकास विरोधीहरुले फैलाएका अफवाहको भ्रममा नपर्न जनतासमक्ष आग्रह गर्नुभएको छ । कसैका बारेमा टिकाटिप्पणी गर्नका लागि आफूसँग समय नरहेको बताउँदै उहाले जनतासँगको भेटघाट र बिकास योजनाका बारेमा छलफलमा केन्द्रित रहेको बताउनुभयो ।
भौतिक पूर्वाधारको बिकासँगै यहाँको मानवीय बिकास तथा रोजगार सिर्जना गरी अबको यात्रा आर्थिक समृद्धितर्फ रहेको उहाले बताउनुभयो । यहाँ बन्दै गरेका औद्योगिक क्षेत्रबाट उत्पादन वृद्धिसँगै हजारौ युवाहरुलाई रोजगार सिर्जना गर्न सकिने उहाले बताउनुभयो । यसैगरी कालिगण्डकी–तिनाउ डाइभर्सन गरी हजारौं विगाह जमिनलाई सिंचित गरी कृषि उत्पादनमा वृद्धि, जलविद्युत आयोजना निर्माण, धार्मिक तथा पर्यटकी सम्भावना बोकेका क्षेत्रहरुको बिकास आफ्नो प्राथमिकतामा रहेको उहाले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)