बुटवल,कार्तिक २० ।
पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रको विकास गर्ने बताएका छन् ।खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउँदै पौडेलले त्यसको लागि अनूकूल परिस्थित र वातावरण आफूले निर्माण गरी काम गर्ने स्पष्ट पारे ।
मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा शनिबार बुटवल आयोजित खेलाडी प्रशिक्षण तथा खेलप्रेमीहरूको भेलामा बोल्दै रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले खेल क्षेत्रमा सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको दावी गरे ।
‘उर्जाशील जीवन विताएका खेलाडीको सम्मानितपूर्वक बाच्नको लागि हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि काम गर्नेछौं ।’ पूर्व खेलकूद मन्त्री समेत रहेका पौडेलले भने ।
उपाध्यक्ष पौडेलले थपे, खेल क्षेत्रको उन्नति र खेलाडीले स्वाभिमानको पक्षमा काम गर्नेछौं । खेल जीवनपछि सहज जिविका निर्वाहको उपचारको प्रबन्ध गर्नेछौं ।’ नेपालमा खेलकूदको क्षेत्रमा अभूतपूर्व सम्भावना रहेको बताउँदै भगवान गौतमबुद्धसँग खेललाई जोडेर प्रमोसन पनि गर्न सकिने उनले बताए ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही २ (१) का उम्मेदवार लिला गिरीले आफू प्रदेशको मन्त्री हुँदा खेल पूर्वाधारमा ठूलो बजेट विनियोजन गरेको बताए ।आफूले अझै खेल र खेलाडीले देख्न सने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने बताए ।
त्यस्तै एमाले प्रदेश उपाध्यक्ष तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा आफूले काम गर्ने बताए । राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको सम्मानित जीवनको लागि नेताहरुले सोच्नुपर्ने बताए ।
कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले खेल र खेलाडीको जीवन सुरक्षित गर्न नेताहरुलाई आग्रह गरे ।एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेला र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)