बुटवल,बैसाख १६ ।
बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समाधान गर्ने रहेको बताउनु भएको छ ।
उहाँले बुटवलका सुकुम्बासी र अव्यवस्थितको समस्यालाई केही समयमै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै नदि किनारको जोखिमयुक्त बस्तीलाई पनि व्यवस्थित र सुरक्षित बनाउने बताउनु भयो ।
शनिबार बुटवलको वडा नं १०, १२ र ३ मा भएको घेरदैलो तथा मतदातासंगको भेटघाटमा उहाँले आफूले जितेमा सबै वडामा समान ढंगले बिकासको खाका कोर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवललाई प्रदेशको राजधानी बनाउने आफूहरुको सपना भएपनि काँग्रेसले ल्याएको अस्थायी मुकाम एमाले सरकारले दाङ पु¥याएको बताउँदै अब बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका उहाँले बुटवलमा एमालेले निषेधको राजनीति गरेको बताउँदै आफूले जीतेमा सबैलाई सम्मान हुनेगरी मिलमिलापको नीतिलाई प्रवद्र्धन गरिने बताउनु भयो । ‘यस अगाडि धेरैपटक एमालेलाई जिताउनु भयो, तर एमालेले जनताको चाहना र भावनालाई बुझ्न सकेन ।’ उहाँले भन्नुभयो–‘यो पटक काँग्रेसलाई मतदिएर जिताएर एक पटक विचार गर्नुहोस्, बुटवलाई कस्तो बनाउनु पर्छ हामी देखाउँछौं ।’
उहाँले अरुले जस्तो झूटो आश्वासन आफूहरुले नबाँड्ने बताउँदै आफूले भनेका कुरा पुरा भएनन् भने आगामी दिनमा आफूहरु भोट माग्न नआउने पनि बताउनु भयो । ‘अहिले बुटवलमा सुकुम्बासी तथा अव्यबस्थित बसोबासी, सडक, खानेपानी, फोहोर व्यवस्थापन लगायत मुख्य समस्याका रुपमा रहेका छन् ।’ उहाँले भन्नुभयो–‘हामीले यी क्षेत्रलाई व्यवस्थित गर्न ठोस योजना बनाएका छौं ।’
त्यस्तै उहाँले बुटवललाई आर्थिक केन्द्रको रुपमा बिकास गर्नको लागि पनि आफूहरुको योजना रहेको बताउनु भयो । औद्योगिक विकासका लागि व्यवस्थित तिनाउ कोरिडोरमा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने बताउनु भयो । मोतिपूर औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँका जनताको समेत साथ लिएर काम अगाडी बढाउने उहाँको भनाई छ ।
बुटवलमा काँग्रेसले नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल गरेको छ । उम्मेदवार पाण्डेले गठबन्धनका उम्मेदवारलाई पनि मत दिएर जिताउन आग्रह गर्नुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)