बुटवल,फागुन ३ ।
बुटवल उपमहानगपालिकाले ६३ औँ स्थापना दिवस मनाएको छ । एक सातादेखि विभिन्न रचनात्मक कार्यक्रम गरेको उपमहानगरले मंगलबार औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको मुल समरोहमा शुभकामना आदानप्रदान गर्दै विभिन्न वक्ताहरुले बुटवलले तय गरेका समृद्धिका आधारशीलाको कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरेका छन् । कार्यक्रममा अतिथिका रुपमा सहभागी विभिन्न क्षेत्रका वक्ताहरुले आवधिक योजनाको कार्यान्वयन र दीर्घकालीन योजनाको निरन्तरताले बृहत बुटवलको अवधारणा साकार हुने समेत विश्वास गरेका छन् । हालसम्मका कामको समीक्षा गर्दै र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनसमेत कार्यक्रमका सहभागीले आग्रह गरेका छन् ।
मूल समारोहलाइ संवोधन गर्दै प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले बुटवल उपमहनरपालिकाले नेपालकै नमुना नगरको रुपमा काम गरेको बताउनुभएको छ । ऐतिहासिक सहर, प्राचीन सहर र पर्यटकीय केन्द्रको सहरको रुपमा रहेको बुटवललाई समृद्ध बनाउने गरि तय गरिएका योजनाहरु साकार हुँदै गएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
उहाँले पाँचौंपटकसम्म पनि निरन्तर कार्यसम्पादन मुल्यांकमा नेपालकै पहिलो स्थानमा आउनु आफैमा गौरवको विषय भएको र अहिलेको बृहत बुटवलको अवधारणा पनि अर्को महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल आफैमा गौरवपूर्ण ईतिहास बेकेको शहर भएको भन्दै इतिहासलाई साक्षि राखेर विकासको कामलाई उत्कृष्ठता प्रदान गरिएको बताउनुभयो ।
उपप्रमुख गुमादेवी आचार्यले लैगिंकहिंसामुक्त सहर, मानवताको सहर, सीपयुक्त, इलमयुक्त नागरिक भएको सहर र लगानीमैत्री सहरका रुपमा बुटवललाई पहिचान दिलाउनेगरी काम गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा महिला अगुवा सावित्रा अर्याल, नेपाली काग्रेसका महासमिति सदस्य युवराज गिरी, नगरका पूर्वमेयर तथा राप्रका नेता पुनाराम पोखरेल, पूर्व उपप्रमुख रामप्रसाद खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, उद्योग वाणिज्य संघका मुक्ति अधिकारीलगायतले बोल्दै उपमहानगरले तय गरेका योजनाले समृद्धिको आधारशीला तयार गरेको बताउनुभयो ।
भौतिक विकास संगै आर्थिक, सामाजिक विकास र सन्तुलनमा ध्यान दिएर कतिपय अधुरा आयोजना साकार पार्न आफुहरुले सहकार्य गर्नेसमेत कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।
बुटवल उपमहानरपालिको स्थापना दिवसको अवसर पारेर श्रमजीवी पत्रकारहरु १५ जना लाई नगदसहित सम्मान गरेको छ । सम्मामनित हुने पत्रकारहरुमा भरत केसी, प्रदिप आचार्य, भगवती पाण्डे, अमृता अनमोल, यानेन्द्र जिसी, सुमन अधिकारी, विक्रम खड्का, रामप्रसाद आचार्य, कृष्ण खनाल, मिना ढकाल, तेजेन्द्र केसी, मनिराम पन्त (मनिष), चन्द्रकान्त खनाल, दिनेश श्रेष्ठ र अस्मीना पाण्डेलाई जनही दश हजार नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
त्यस्तै बुद्ध सामुदायिक टेलिभिजन लुम्बिनी सामुदायिक टेलिभिजन र राज्य टेलिभिजन अनलाईनहरुमा नागरिक अनलाइन, ग्लोबल आवाज, खबरकुरा, समयचक्र, लुम्बिनी अनलाइन, बुटवल अनलाईन, समतल अनलाईन, जितगढी अनलाईनलाई समेत संस्थागत मिडियाका रुपमा सम्मान गरिएको छ ।
यसैगरी रुपन्देहीका ६ वटा दैनिक पत्रपत्रिकाहरु मेचीकाली सन्देश, बुटवल टुडे, दैनिक लुम्बिनी, दैनिक पत्र, नव तिलोत्तमा दैनिक र गौतमुबद्ध सन्देश दैनिकलाइ पनि संस्थागत मिडियाका रुपमा सम्मान गरिएको छ ।
बुटवलबाट सञ्चालित समुदायिक तथा व्यवसायिक एफएम रेडियोहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)