बुटवल,माघ २४ ।
बुटवलमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने तथा स्थानीय तहको निर्वाचन तत्काल घोषणाको माग गर्दै गरेको विरोधमा प्रहरीले हस्तक्षप गरेको हो । झडपमा परी आधा दर्जन विद्यार्थीहरु घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले बताए ।
विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने कार्यक्रममा प्रहरीले एक्कासी हस्तक्षेप गर्दै लाठिचार्ज गरेको हाे ।मुख्यमन्त्री कार्यालय अगाडि बिद्यार्थीले प्रदर्शन समेत गरे ।
झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठकबहादुर केसीले झडप नभई सामान्य धकेला-धकेल मात्रै भएको नागरिक अनलाइनलाई बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)