बुटवल,पुस २७।
पुर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा जलबिद्युत र उर्जाको अपार संभाबना रहेको बताएका छन् । उनले चुस्त र समयमै काम गर्ने पद्धतिको बिकास हुन जरुरी रहेको बताए ।
भिजन लुम्बिनी उर्जा कम्पनीको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सानो सानो पूजी एकिकृत गरेर ठुला ठुला जलबिद्युतको परियोजना चलाउनु सकारात्मक रहेको बताए । उनले भिजनले गरेको नौलो अभ्यासको प्रशंसा समेत गरे ।
भिजन लुम्बिनी उर्जा कम्पनीले गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा २५ मेघावाटको सेतिनदि जलविद्युत प्रवर्द्धन गरिरहेको संस्थाका अध्यक्ष जगत पोखरेलले बताए । संस्थाले छिट्टै आइपिओ समेत जारी गनर्एे नीति साधारणसभाबाट पारित भएको छ ।
सेमि–भर्चुअल जुम बिधिबाट भएको साधारण सभामा बिशिस्ट अतिथि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्य , प्रमुख सल्लाहकार गणेश कुमार श्रेष्ठ ,वित्तीय सल्लाहकार नारायण पौडेल, सल्लाहकार गोपाल पोखरेल,वासुदेव अधिकारी,सोसल डाईरेक्टर बोम बहादुर गुरुङ,एचआइडिसिएल प्रतिनिधि सञ्चालक वासुदेव भण्डारी, प्रोजेक्ट डाइरेक्टर लेखनाथ पाण्डे, कर्पोरेट लगानी शाईन रेशुङ्गा बैंकका अध्यक्ष थानेश्वर पौडेल ,सञ्चालकहरु दुर्गा सुवेदी, बिनोद ज्ञवाली, भिजन लुम्बिनीको तर्फबाट कुलबहादुर केसी, सन्तोष पोखरेल ,कम्पनी सचिव मीन प्रसाद ढकाल लगायतले बोलेका थिए ।
सो अबसरमा अध्यक्ष जगतबहादुर पोखरेलको वार्षिक प्रतिवेदन र सिए दिवाकर गिरीको अर्थिक प्रतिबेदन पारित भएको छ । भनेसंस्थाका हरेक कृयाकलापमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै लक्ष्मण गैह्रे, र उत्कृष्ट कर्मचारी दिपक बिसीलाइ दोसल्ला र प्रशंसापत्रले सम्मान समेत गरिएको छ ।
माछापुच्छ्रको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ ।
विसं २०७७ साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ । पाँच अर्व रुपैया लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् । बैँक वित्तिय संस्थासँग लगानी सम्बन्धी सम्झौता यसअघिनै सम्पन्न भइसकेको आयोजना प्रवन्धक इन्जिीनियर लेखनाथ पाण्डेले जानकारी दिए ।
बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उनका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासी समेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् ।
जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरीद गरिसकिएको र सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेश गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रवन्धक बमबहादुर गुरुङले जानकारी दिए ।
आयोजनाले उत्पादन गरेको विद्युत वर्षा यामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता छ ।
आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको कम्पनीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)