बुटवल,पुस १० ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रदेशको राजधानी नहुंदैमा बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन्।
आफ्नै इतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाणले राजधानी नरहे पनि बुटवल बुटवल नै रहने बताएका हुन्।गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै शनिबार खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए।खाणले रूपन्देहीको विकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरू भइरहे पनि विकासका लागि गरेको पहलको जस भने नलिने बताए।
गृहमन्त्री खाणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धी हासिल गरे पनि गरिबीको संख्या भने बढेको बताए। उनले स्वास्थ्य क्षेत्रमा सरकारी अस्पताल कमजोर हुँदा जनताले निजी अस्पतालमा महंगो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरूको प्रवर्द्धन गर्न अग्रसर रहेको बताए।
उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद् रहेको उल्लेख गर्दै आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए।
अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८ सय बेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरू तयार रहेकोले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसँग आग्रह गरे।
रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पुस १० गतेबाट सेवा सञ्चालन गरेको अस्पतालले एक वर्षको अवधिमा ओपिडी, इमरजेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)