बुटवल,मंसिर २७ ।
नेपाली कांग्रेसका युवा नेता एवं संबिधानसभा सदस्य नगेन्द्रकुमार कुमालले आफूलाई मतदान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका कुमालले महाधिबेशन प्रतिनिधीहरुलाई आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।
ईलाम क्षेत्र नं २ बाट महाधिबेशन प्रनिनिधी एवं महासमिति सदस्यमा निर्बिरोध निर्वाचित भएका कुमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय रहंदै आएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका कुमाल नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति समेत हुन् । ईलाम माइ नपा–७ का स्थायी बासिन्दा कुमाल यसअघि पार्टीको बिभिन्न तह र तप्कामा रहेर महत्वपूर्ण जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
पार्टीमा आदिवासी जनजातिहरुको प्रतिनिधित्व, समान सहभागिता र समावेशीताका लागि आफू केन्द्रीय सदस्यका रुपमा चुनावी मैदानमा होमिएको कुमालले बताए । “पार्टीको रुपान्तरण र पुस्तान्तरण तथा पार्टीलाई अझै सबल,सक्षम र सशक्त बनाउने योजनाका साथ तमाम कार्यकर्ताको चाहना र भावना बमोजिम मैले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हो,– कुमालले भने ।” आदिवासी जनजाति लगायत पिछडीएको वर्गको हक, अधिकारको आवाज थप बुलन्द बनाउन पार्टीको केन्द्रय सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।
जनजाति अभियन्ता समेत रहेका कुमाल पार्टी भित्र लोकप्रिय र कार्यकताको रोजाईमा परेका नेता हुन् । पार्टीका स्थानीय तथा केन्द्रीय तहका नेताहरुको साथ, समर्थन तथा तमाम कार्यकर्ताबाट प्राप्त उत्प्रेरणा र हौशलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको कुमालले बताए । सबै संग सहज सम्पर्कमा रहने उनी सरल, शालिन, मिलनसार र इमान्दार नेताका रुपमा चिनिन्छन् । बिद्यार्थी जीबनबाटै राजनीतिमा क्रियाशील रहदै आएका नेता कुमालले पार्टीमा थप योगदान गर्न केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा प्रस्तुत भएको प्रतिक्रिया दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)