बुटवल, मंसिर २५ ।
प्यूठानका काङ्ग्रेस नेता दिवाकर गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले आज मनाेनयन दर्ता गराए ।
२०४८ सालमा कृष्णप्रसाद भट्टराई केन्द्रीय कार्यसमितिको सभापति भएका बेलामा उनी प्यूठानका जिल्ला सभापति थिए त्यतिबेला झापाको सभापतिमा कृष्णप्रसाद सिटौला र काठमाडौंको सभापतिमा प्रकाशमान सिंह थिए ।
उनी शेरबहादुर देउवा र रामचन्द्र पौडेल जत्तिकै पुराना र सिनियर हुन । विस २०२४ सालदेखि नेपाली काङ्ग्रेसमा लागेका गौतम २०२८ सालमा नेपाली काङ्ग्रेस प्यूठानको जिल्ला कार्यसमिति सदस्य भइसकेको थिए ।
२०२९ सालमा संघसंस्था खोलेको अभियोगमा अढाई वर्ष जेल परेका गौतम जेलबाट छुटेपछि पनि अनवरत राजनीतिक यात्रामा लागि रहे । प्रजातन्त्र प्राप्तिका लागि नेपाली काङ्ग्रेसले गरेको सत्याग्रह, जनआन्दोलन लगायतका सबै गतिविधिमा सक्रिय रहे । यस क्रममा पटकपटक जेल र यातना सहन बाध्य भए ।
प्यूठानको दाखाक्वाडीमा विस २००९ सालमा जन्मिएका गौतम नेपाली काङ्ग्रेसमा निष्ठावान एवम् सदाचारी नेता हुन । । निडर स्वभावका नेता दिवाकरलाई माओवादी विद्रोहीले सिध्याउने प्रयास गर्यो । २०५८ साल फागुन ४ गते राति १२ बजे माओवादी जत्थाले आक्रमण गरी सुतिरहेका सबै परिवारका सदस्यलाई घरबाट निकाली घरमा भएको सुनचाँदी, धनपैसा लुटपाट गरी घरको चारैतिर शक्तिशाली बमबिषफोट गराई घरको जगैदेखि ध्वस्त बनाए ।
त्यो कहालीलाग्दो रात पछि गौतम परिवार हाल सम्म पनि विस्थापित नै छ । गौतमको अनवरत राजनीतिक यात्रा जारी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)