बुटवल,मंसिर २३ ।
नेपाली काँग्रेसको नेता तथा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी रुपान्तरणको प्रस्ताव अघि सारेका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ अघि सारेका हुन् ।
‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नाराका साथ थापाले सार्वजनिक गरेको ६१ पृष्ठ लामो प्रस्तावमा आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने सबैको साझा सपना भएको उल्लेख गरिएको छ । थापाले आफ्नो राजनीति यही उद्देश्य प्राप्तिका लागि समर्पित रहने पनि स्पष्ट गरेका छन् ।
कार्यक्रममा बोल्दै थापाले जनतासँग बाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बहाना नरहेको बताए । उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको पनि बताए ।
‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)