बुटवल,मंसिर २३ ।
नेपाली काँग्रेसको संस्थापनइतरबाट साझा उम्मेदवार टुंग्याउन सकस भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन्।
मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन्। केहीबेर अघि सकिएको चाक्सीबारी बैठकमा पौडेलले आफ्नो समूहबाट सिंह र कोइराला दुवै सभापतिको उम्मेद्वार भएको अवस्थामा राजनीति नै छाड्नेसम्मको चेतावनी दिएका हुन्।
बैठकपछि रामशरण महतले भने,-‘उहाँहरु जो पनि उठ्छु भन्नु हुन्छ। प्रकाशनमान जी पनि त्यही भन्ने, शेखर जी पनि त्यहीँ भन्ने। त्यस्तो अवस्थामा रामचन्द्रले भन्नुभयो– तपाईंहरु दुवैजना उम्मेद्वार हुने हो भने म पार्टी र राजनीति नै छाडेर घरमा बस्छु।’
चाक्सीबारेको छलफल विना निष्कर्ष सकिएपछि पौडेल समूहका नेताहरु निराश भएर फर्किएका छन्।
तर, संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । काठमाडौं काँग्रेसको तल्लो इकाई हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य, पहिलो निर्वाचित महामन्त्री बनिसकेका छन् । उनी काँग्रेसका संस्थापन नेता गणेशमान सिंहका छोरा हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)