बुटवल,मंसिर २२ ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको तयारी तीब्र पारेको छ । केन्द्रीय नयाँ नेतृत्व चयनका लागि मंसिर २४ गते काठमाडाैँमा महाधिवेशन उद्घाटन हुनेछ ।
महाधिवेशन उद्घाटनपछि नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ । त्यसको लागि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरिसकेको छ ।
कांग्रेस महाधिवेशनअन्तर्गत पहिलो दिन मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदाताको प्रारम्भिक सूची भने प्रकाशन गरिसकेको छ ।
निर्वाचन कार्यक्रमअनुसार २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले बताएको छ । अरु प्रकृया सकेर २७ मंसिरमा नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)