बुटवल,मंसिर २२ ।
नेपाली काँग्रेसको संस्थापन इतरले आज साझा उम्मेदवार चयन गर्दै छ ।आजसम्म साझा उम्मेदवार सार्वजनिक गर्ने टुंगोमा पुगेका नेताहरुमध्ये दुईजना ब्याक हुन तयार भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले चाक्सीबारीमा भएको बैठकमा सुरुमै त्याग गर्न तयार भएको बताएका थिए । उनले अन्य दाबेदार तीनमध्ये एकको नाम दिन भने । अन्यथा आफ्नो नाममा एकपटक सहमति निकाल्न आग्रह गरे ।
घन्टौं चलेको बैठकमा पछिल्लो पुस्ताका नेताहरुले पनि दबाब दिइरहेका थिए । अन्तमा महामन्त्री डा. सशांक कोइरालाले ब्याक हुने भन्दै पौडेलको नाम प्रस्ताव गरे । पौडेलले पनि कि आफ्नो नाममा सहमति निकाल्न कि प्रकाशमान सिंह र शेखरमध्ये एकलाई ब्याक हुन भने ।
प्रकाशमानले आफू लामो समय पार्टीमा काम गरेको, पकड पनि बनाएको, समूहमा डगमग नभई बसेको आधारमा साथ दिन भने । विगतमा पौडेल र सशांकका लागि त्याग गरेको स्मरण गराए । शेखरले पनि आफ्नो बलियो पकडबारे उल्लेख गरे । इतर समूहमा बढी जिल्ला सभापति पक्षमा रहेको दाबी समेत गरे ।
प्रकाशमान र शेखर टसमस नभएपछि भोलि टुंगो लगाउने गरी नेताहरु उठेका छन् । तर, काँग्रेसभित्र इतर समूह एक भई साझा उम्मेदवार तय गर्नेतर्फ बढेको छ । यसले काँग्रेस सभापतिको दौड रोचक मोडमा पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)