Logo मंगलवार, श्रावण १२ गते २०८३
images

द्रौपदीको चीरहरण र एकलव्यको गुरुदक्षिणाबारे महाभारतको कथा र भ्रम

द्रौपदीको चीरहरण र एकलव्यको गुरुदक्षिणाबारे महाभारतको कथा र भ्रम

  • 4.1K
    SHARES

  • द्रौपदीको चीरहरण र एकलव्यको गुरुदक्षिणाबारे महाभारतको कथा र भ्रम

    -डा. बाबुराम ज्ञवाली

    महाभारतमा आधारित भएर नयाँ कथा नयाँ दृष्टिकोण दिन स्वयं महाभारतकारले नै छूट दिएका छन् । उनले भनेका छन्– अर्थ, काम, धर्म र मोक्षबारे यसमा जे छ, त्यो अन्यत्र छ, र यसमा जे छैन, त्यो अन्यत्र छैन । यसमा आधारित भएर भविष्यमा अनेक कथा र काव्य भविष्यमा रचना गरिने छन् ।

    साथै महाभारतमा के पनि भनिएको छ भने भूतं, भव्यं, भविष्यं च त्रिविधं काल संज्ञितम् । अर्थात् भूतकाल, वर्तमान काल र भविष्यकालका अनेक समस्याहरुको समाधान पनि यसबाट प्राप्त हुनेछ ।

    यस लेखमा महाभारतका वास्तविक प्रसंगबारे चर्चा गरिएको छ । जसबारेमा मानिसहरुमा सामान्य भ्रम रहेको छ । वास्तविक प्रसंग भन्नुको अर्थ हो महाभारत मूल ग्रन्थमा त्यसबारे जसरी वर्णन गरिएको छ । यो प्रसंग महाभारत आदि पर्व र सभापर्वसंग सम्बन्धित छ । महाभारत आदि पर्व र सभापर्वको बारेमा एउटा रमाइलो कुरा के छ भने त्यहाँका प्रसंग अत्यन्त संक्षिप्त कथन छन् । जसको व्याख्या गर्ने ठाउँ लेखकहरुलाई छ । त्यसैले सबभन्दा बढी साहित्य रचना गरिएको पर्व पनि यही हो ।draupadi.jpg

    एकलव्य महाभारतको एक यस्तो चरित्र हो जसमाथि सामान्यतया सबैको सहानुभूति जान्छ  किनभने एकलव्यलाई शब्दभेदी बाण चलाउने योग्यता देखिएकोले दाहिने हातको औठा गुरुदक्षिणा मागिएको छ । यस कृत्यले द्रोणाचार्यको व्यक्तित्व इतिहासमा घटेको छ भने एकलव्य सधैंलाई अमर हुन पुगेका छन् ।

    द्रोणाचार्य महाभारतका एक यस्ता पात्र हुन् जो अत्यन्त योग्य छन्, उनी ब्राह्मण भइकन पनि युद्धमा रुचि राख्छन् । युद्ध शास्त्र र धनुर्वेदका रचयिता हुन् । सेनापति पनि बने तथापि कौरव दरबारमा पुग्नु अघि उनी अत्यन्त गरिबी, अभाव, पीडा र अपमानमा जीवन बिताइरहेका थिए । उनले श्रीमतीलाई विवाह पछि एउटा नयाँ साडी किन्न सक्दैनन् । आभूषणको त उनले कल्पना नै गरेका छैनन् । सानो बालकले दूध मागेर जिद्दी गर्दा पिठो घोलेर उसको चित्त बुझाइरहेका छन् । आफ्नै लुगा नफेरेको वर्षौ भएको छ । हस्तिनापुर दरबार पुग्दा उनका वस्त्र भित्र शरीर देखिएको थियो । यी सबै कारणलाई उनी मनोवैज्ञानिक रुपमा निराश, हताश र कमजोर छन् । मृत्युपर्यन्त उनी कता कता हीन मनोविज्ञानबाट पीडित देखिन्छन् । जसले गर्दा उनमा ब्राह्मणोचित क्षमाशीलता छैन । उनले राजा द्रुपदसँग मनमनै वर्षौ वर्ष इख राख्छन् ।

    तर एकलव्यको चरित्रमा यो हीनताबोध छैन किनभने ऊ निषादराज हिरण्यधनुको योग्य सन्तान हो । ऊ आफ्नो जातिको भावी राजा भएकोले धुनर्विद्या सिक्न इच्छुक छ जसलाई द्रोणाचार्यले शिक्षा दिन अस्वीकार गर्छन् । यसका दुई कारण महाभारतमा उल्लेख छ– कौरवहरुलाई ध्यानमा राखेर तथा निषादपुत्र भएकोले । कौरव दाजु भाईको वशमा हुन्थ्यो भने उनीहरुले पाण्डवलाई समेत त्यस विद्याबाट बाहिर गरीदिने थिए जुन उनीहरुले सिक्दै । कौरवले द्रोणचार्यको योग्यतालाई मान गरेर धन दिए उनीहरु प्रति उनले कृतज्ञताको भाव राख्नु स्वाभाविक पनि हो ।  द्रोणले निषाद पुत्रलाई सिकाउने अनिच्छा किन गरे त्यो कुरा महाभारतमा स्पष्ट छैन । उनी आफूभित्र रहेको हीनताग्रन्थी त्यसको कारण हुनसक्छ । उनले कौरवहरुलाई सिकाउँदा आफूलाई गौरव अनुभव गरेको हुन सक्छ तर जातिगत भेदभाव गरेर त्यो गरेको भने होइन किनभने कुरवंश पनि आखिर निषाद आमा सत्यवती कै वंशज हुन् । उनी माझीकी छोरी थिइन् ।   

    हुन त, निषाद जाति आर्यभन्दा फरक हो र उनीहरुको मुख्य पेशा माझीको हो । तर निषादको अर्थ धनुर्विद्या सिक्न नपाउने भन्ने छैन किनभने कुरुक्षेत्र युद्धमा निषादलाई अन्य राजाहरुसरह नै निमन्त्रण गरिएको छ र उनीहरुले क्षत्रिय राजाहरुका साथ मिलेर युद्ध गरेका छन् ।

    अर्जुनलाई द्रोणाचार्यले विशेष स्नेह गर्छन् । यसको कारण पनि छ । अर्जुन प्रतिभावान् छन्, गुरुभक्त छन् । आचार्य द्रोणको जीवन खतरामा पर्दा एक शिष्यको हैसियतले उनले जीवनरक्षा गरेका छन् जुन अन्य शिष्यहरुबाट भएको छैन । उनको अध्ययनको एकाग्रता पनि प्रसिद्ध छ । सबै गुरुहरुले मेहनती शिष्यलाइृ विशेष माया गर्छन् ।

    गुरुको इच्छा पूरा गर्ने अर्जुनको तत्परता महाभारतमा एक उदाहरुण्को रुपमा देखिन्छ । धनुर्विद्या सिकाउनु अघि द्रोणले भन्छन्– मैले धनुर्विद्या सिकाएपछि तिमीहरुसँग एक विशेष गुरुदक्षिणा माग्नेछु । मेरो यो इच्छा कसले त्यो पूरा गर्न सक्छ ? द्रोणले आफ्नो इच्छा बताउँदैनन् । त्यसैले अरु कसैले केही जवाफ दिन्नन् तर अर्जुनले अगाडि आएर भन्छन्– मैले पूरा गर्छु ।

    उनको यो इच्छा द्रुपदसँगको रीस साध्नु हो । जुन द्रोणले शिक्षा पूरा भएपछि मात्र सबैलाइ बताउँछन् । 

    अर्जुनले शब्दभेदी बाण रातिरातिमा आफ्नै प्रयासले सिकेका हुन् । त्यो शिक्षा द्रोणचार्यले दिएका होइनन् । एकलव्यले पनि आफैं सिकेको हो । फरक के भने उसले द्रोणको मूर्तिलाई साक्षी बनाएर अभ्यास गथ्र्यो । यो उसको गुरुभक्तिको अनुपम उदाहरण हो ।

    एक रात द्रोणको निद्रा खलबलिन्छ । उनले देख्छन् सुनसान अँध्यारोमा अर्जुनले शब्दभेदी वाण चलाइरहेका छन् । आश्चर्यमा परेका द्रोण अत्यन्त प्रसन्न हुन्छन् । अर्जुनलाई छातीमा लगाएर भन्छन्– तिमी बराबर अर्को धनुर्धारी संसारमा हुनेछैन ।

    अर्जुन अत्यन्त प्रसन्न हुन्छन् । तर उनको प्रसन्नता त्यसदिन हराउँछ जब एकलव्यले शब्दभेदी बाण चलाएको आफैंले देख्छन् । चिन्तित अर्जुनले कोही नभएको समय पारेर गुरुलाई सोध्छन्– गुरुदेव, हजुरले त मलाई श्रेष्ठ धनुर्धर बनाउने आशीर्वाद दिनु भएको थियो । एकलव्यले त मभन्दा छिटो र निशानामा बाण लगाउन सक्दो रहेछ । अर्जुनको यस भनाईमा द्रोणमाथि अरुलाई पनि धनुर्विद्या सिकाएको शंकाको गन्ध देखिन्छ । 

    अर्जुनको शंका स्वाभाविक पनि छ किनभने द्रोणले सबै कुरा अर्जुनलाई सिकाउँदैनन् । अश्वत्थामालाई लुकी लुकी हतियार चलाउन सिकाउँछन् । तर फेरि अश्वत्थामासँग पनि केही कुरा लुकाउँछन् । उनले अश्वत्थामालाई ब्रह्मास्त्र छोड्न सिकाउँछन्, फिर्ता ल्याउन विधि सिकाउँदैनन् । हीनताबोधले गर्दा द्रोणका व्यक्तित्वको यो कमजोरी उनको मृत्यु पर्यन्त देखिन्छ ।

    अर्जुनको स्वरमा अविश्वासको गन्ध पाएर द्रोणाचार्य एक छिन् मौन बस्छन् र अर्जुनलाई तुरुन्तै लिएर एकलव्य भएको ठाउँमा पुग्छन् ।

    एकलव्यले आचार्यलाई प्रणाम गर्छ । द्रोणले भन्छन्– यदि तिमी मेरो शिष्य हो भने मलाई गुरुदक्षिणा देउ ।

    अर्जुनको अगाडि यो प्रश्न सोध्नुको सोझो अर्थ आपःुलाई निर्दोष प्रमाणित गर्नु हो । यदि एकलव्यले मैले तपाईंसँग धनुर्विद्या सिकेको छैन आफैं सिकेको हो भनेको भए कुरा त्यहीं समाप्त हुने थियो तर एकलव्यले भन्छ– गुरुदेव मसँग दिने कुरा केही पनि छैन बरु हजुरले भन्नुस मैले हजुरलाई के दिउँ ?

    यसबाट द्रोणले उसलाई छुट्टै लुकेर सिकाएको गन्ध आउँछ । अर्जुनको शंका छन् प्रबल हुने भयो । उनी दोषी साबित हुने भए ।

    यस पछि द्रोणले भन्छन्– त्यसो भए तिमीले दाहिने हातको औंठा मलाई देउ । एकलव्यले तत्काल आफ्नो औंला काटेर दिन्छ ।

    दाहिने हातको औंठा देउ भन्नुको सांकेतिक अर्थ पनि गर्न सकिन्छ– त्यस औंठाले काम नगर्ने प्रतिज्ञा । तर महाभारतमा एकलव्यले आफ्नो औंठा काटेर दिएको भन्ने कुरा स्पष्ट उल्लेख छ । 

    यस विवरणलाई पढ्दा एकलव्य प्रति जुन सहानुभूति उत्पन्न हुन्छ, त्यो द्रोण प्रतिको असन्तुष्टिमा नै व्यक्त हुन्छ । जसलाई अस्वाभाविक मानिँदैन । तर एकलव्य प्रति सहानुभूति राख्दा द्रोण प्रति पनि अन्याय गर्नु हुँदैन । 

    यस पछि, महाभारतको कथा अनुसार, द्रोणले एकलव्यलाई तर्जनी र मध्यमाको प्रयोगले वाण सन्धान गर्ने एक नयाँ विधिको तत्काल संकेत गर्छन् । र यो शिक्षा द्रोणले प्रथम पटक एकलव्यलाई मात्र संकेत गरेका छन्, जसको बारेमा अर्जुन र अश्वत्थामा दुवैलाई जानकारी छैन । द्रोणको उद्देश्य एकलव्यलाई वाण चलाउन अक्षम बनाउनु थिएन उसको त्वरा घटाउनु मात्र थियो । दुई औंलाले बाण हान्ने नयाँ विधि सिकाएर एकलव्यलाई लक्ष्यवेधमा बढी सिापलु बनाएका थिए किनभने यस विधिमा निशाना ठीक लाग्छ । आज ओलम्पिक खेलमा तीरन्दाजी गर्नेहरुले एकलव्यको विधिले नै लक्ष्यवेध गर्छन् ।

    महाभारतमा यस घटनाको बारेमा दुई कुरा थप गरिएको छ । त्यो के भने द्रोणको प्रसन्नता कति मात्र छ भने उनले अर्जुनलाई दिएको आशीर्वाद सफल भयो र अर्जुनको प्रसन्नता के कुरामा छ भने उसको शंका निवारण भयो, एकलव्यलाई द्रोणले सिकाएको होइन रहेछ ।

    एकलव्यले पुनः दुईवटा औंलाको प्रयोग गरेर वाण चलाउने अभ्यास गर्छ तर उसको वाण चलाउने गति पहिलाको भन्दा घट्छ । यसरी एकलव्य वाण चलाउन असमर्थ बनाइएको होइन र उसले देब्रेहातले चलाएको पनि होइन ।

    अर्को प्रसंग हो द्रौपदीको । धेरैलाई के भ्रम छ भने दुर्योधनलाई लडेको देखेर अन्धाको छोरो भनेर द्रौपदी हाँसेकी थिइन् ।

    राजसूय यज्ञको समाप्ति पछि दरबारको वैभवले डाहाढिएको दुर्योधन दरबार हेर्न थाल्यो । सो क्रममा पानी र जमीनमा झुक्किएर लड्यो । द्रौपदीले त्यो देखेको कुरा मूल महाभारतमा लेखिएको छैन । हो, त्यो भीमले देखेको हो र आफ्नो स्वभाव अनुसार भीम हाँसेको कुरा उल्लेख छ । त्यो कुरा अर्जुन, नकुल, सहदेवलाई देखाएपछि उनीहरु पनि हाँस्छन् । युधिष्ठिरलाई पनि त्यस कुराको जानकारी छैन । दुर्योधनले आफूलाई हेरेर भीम, अर्जुन, नकुल, सहदेव हाँसेको देखेर असह्य भई मामा शकुनिसँग जुआमा हराउने षडयन्त्र गरेको भने उल्लेख छ । विदुर, भीष्म आदि अन्य सबै यस कपट जुआको समर्थनमा हुँदैनन् । तर राजा धृतराष्ट्रको निर्णय भएकोले दरबारमा हेरेर बस्न विवश छन् ।  

    जुआ खेल सुरु हुन्छ  युधिष्ठिरले जुआमा दरबार भित्रको सम्पत्ति बाहिरको सम्पत्ति, राज्य सबै हार्छन् । अन्तमा भाईहरुलाई पनि दुर्योधनको कमारो बनाइदिन्छन् । सबै सिद्धिएर कङ्गाल बनेपछि युधिष्ठिरले निराश र हताश मनले भन्छन्– अब मसँग दाउमा थाप्ने कुरा केही छैन ।

    शकुनिले भन्छ– अब एउटा कुरा बाँकी छ– द्रौपदी ।

    द्रौपदीमा यति धेरै गुण छन् । अब युधिष्ठिरले सोच्छन् जुआमा जीत हार दैव आधीन हो । के थाहा द्रौपदीलाई थापे पछि यस अघि गुमाएको पनि फर्कन्छ कि भन्ने उनीमा आशा पलाउँछ ।

    यस्तो लाज लाग्दो कुरा देखेर वृद्धहरु बाल्हीक, सोमदत्त, भीष्म र युवाहरु सञ्जय, अश्वत्थामा, भूरिश्रवा र युयुत्सुले आफूलाई अपमानित अनुभव गरेर टाउको निहुराउँछन् । अन्य सभासद रुन थाल्छन् तर दुर्योधन, दुशासन र कर्ण झन् खुशी हुन्छन् ।

    खुशीले गद्गद् भएको दुर्योधनले द्रौपदीलाई लिन सेवक पठाउँछ । द्रौपदीले सभामा नजान अनेक बाहाना गर्छिन् र पटक पटक सेवकलाई प्रश्न गर्छिन्– सेवक तिमीले के भनेको ? कुन राजाले आफ्नो रानीलाई जुआमा थाप्छ ? के राजा युधिष्ठिरसँग पत्नी बाहेक अर्थोक दिने केही रहेन ? किन उनको यसरी बुद्धिभ्रष्ट भयो ? दूत, तिमीले ती जुआडेलाई सोध, पहिला मलाई जुआमा थापेर आफूलाई थापेका हुन् कि आफू हारेपछि मलाई दाउमा थापेका हुन् ? सेवक सभामा गएर कुरुवंशीहरुलाई सोध । यस जटिल अवस्थामा मैले धर्मानुकूल हुने के व्यवहार गर्नु पर्छ ? उहाँहरु धर्मात्मा, नीतिज्ञ, र श्रेष्ठ महापुरुष हुनुहुन्छ, उहाँहरुले भनेको कुरा मैले पालन गर्ने छु ।

    सेवक सभामा आएर पटक पटक युधिष्ठिरलाई र अरुलाई त्यो कुरा दोहोर्याउँछ तर कसैले कुनै उत्तर दिन सक्दैनन् । सबैले टाउको निहुराउँछन् ।  दुर्योधनले द्रौपदीलाई सभामा आएर आफ्ना कुरा राख भनी अह्राउँछ ।

    त्यस बेला युधिष्ठिरले अरुले थाहा नपाउने गरी आफ्नो निजी अंगरक्षकलाई भन्न पठाउँछन्– पाञ्चाली, तिमी रजस्वला छौ । एउटा अधोवस्त्र लगाएर रुँदै ससुराका अगाडि आएर आफ्नो कुरा भन । सायद, तिम्रो यस कुराले सभामा दुर्योधनको निन्दा हुनेछ ।

    सेवकले द्रौपदीलाई ल्याउने नसके पछि दुर्योधनले भाई दुशासनलाई पठाउँछ । दुष्ट दुशासनलाई लिन आएको देखेर आर्त द्रौपदी गान्धारीको रनिवासतिर दगुर्छिन् । दुशासनले दौडेर गएर  पछाडिबाट द्रौपदीका लामा केशराशि समातेर घिसार्दै ल्याउँछ ।

    द्रौपदीले सभामा रुँदै भन्छिन्– हे मन्दबुद्धि, म रजस्वला हूँ, यस्तोमा मलाई सभामा लैजानु अनुचित छ । अनि सभालाई भन्छिन्– के भरतवंशको मर्यादा र धर्म सकिएको हो ? यति अन्याय हुँदा पनि सारा सभाले मौन भएर हेरिरहेको छ ? मेरा प्रश्नहरुको जवाफ के हो ?

    भीष्मले प्रश्नबाट तर्किने उत्तर दिन्छन्– बुहारी, धर्मको स्वरुप अत्यन्त सूक्ष्म छ । जो आफैं दास भइसकेको छ, उसले पराई सम्पत्तिलाई दाउमा थाप्न सक्दैन तर स्त्रीलाई भने हरेक अवस्थामा पतिको अधीन मानिएको छ । तिम्रा प्रश्नको ठीक उत्तर दिन मैले सकीन बरु यस प्रश्नको सही उत्तर धर्मराज युधिष्ठिरले दिन सक्छन् । तर युधिष्ठिर आफैं कमारो बनिसकेका छन् ।

    सभाले न्याय गर्न नसक्ने देखेर द्रौपदीले भन्छिन्– त्यो सभा सभा होइन जहाँ वृद्ध छैन, त्यो वृद्ध होइन जसले धर्मको कुरा गर्दैन, त्यो धर्म होइन जसले सत्यको कुरा गर्दैन, र त्यो सत्य होइन जसमा छल लुकेको हुन्छ । यो एक प्रकारले भीष्ममाथि गरिएको व्यंग्य थियो । किनभने उनको कुरामा छल लुकेको छ ।  

    द्रौपदीका अपमानको जुन घटनाबारे भीष्म, द्रोणाचार्य र धृतराष्ट्र जस्ता वरिष्ठले एक शब्द बोलेनन् त्यसको विरोध सभाको कनिष्ठ व्यक्ति दुर्योधनको कान्छो भाई विकर्णले स्पष्ट शब्दमा गर्यो– तपाईं जस्ता वरिष्ठले जवाफ दिन नसके पनि मैले सो कुराको जवाफ दिन्छु– युधिष्ठिरले द्रौपदीलाई दाउमा थापेर धर्मविरोधी काम गरेका छन् । एक त उनले आफू हारेर द्रौपदीलाई दाउमा थापेका छन् । अर्को उनले आफ्ना भाईहरुलाई नसोधीकन जुआमा थापेका छन् । द्रौपदी केवल युधिष्ठिरको पत्नी होइनन् उनी अन्य पाण्डवहरुकी पत्नी पनि हुन् । त्यसैले युधिष्ठिरको यो काम नीतिसम्मत छैन ।

    यस घटनाबाट रन्थनिएका र क्रुद्ध बनेका विदुरले भन्छन्– सभामा कुनै प्रश्न राखिसके पछि त्यसको निरुपण गर्नु पर्छ । अब विकर्णले जुन कुरा राख्यो त्यो ठीक हो बेठीक निर्णय गरियोस् ।

    दुर्योधनले भाईको कुरा सुन्दैन अरु कोही बोल्दैनन् ।

    सभामा विकर्णको कुरा सुनिँदैन । विदुरको कुरा बेवास्ता गरिन्छ । दुशासनले द्रौपदीको अपमान गर्न उसको भएको एउटा वस्त्र पनि तान्न थाल्छ । कृष्णले बचाएको घटना महाभारतमा त्यति स्पष्ट छैन जति भागतमा । महाभारतमा केवल यति उल्लेख छ– उनलाई बचाउने कोही नभए पछि ईश्वरको नाम लिन थालिन् ।

    द्रौपदीको विलाप र क्रोध देखेर सान्त्वना दिन धृतराष्ट्रले दुईवटा वरदान माग्न भन्छन् ।

    पहिलो वरदानबाट उनले युधिष्ठिरको दासत्वमोचन गर्छिन् । र अर्को वरदानबाट भीम, अर्जुन, नकुल सहदेवलाई दासत्व मुक्त गर्छिन् ।

    यस पछि धृतराष्ट्रले थप वरदान माग्न अनुरोध गर्छन् तर उनले आफू एक क्षत्राणि भएकोले अरु वरदान लिन अस्वीकार गर्छिन् र भन्छिन्– मलाई यस बाहेक अरु केही चाहिँदैन ।

    brgewali_2008@yahoo.com

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology