भैरहवा,भदौ १३ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ‘प्रतिगमनकारी केपी ओलीको सपना’ जसपाले चकनाचुर पारिदिएको बताएका छन् । जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको बताए ।
उनले प्रतिगमनकारीको सपना जसपाले चकनाचुर गरेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता यादवले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडकमा आन्दोलनमा उत्रिएको बताए। ‘सुरुमा आफूहरुले आन्दोलन गरे पनि ओलीको कदमप्रति कांग्रेस भने दोधारमा थियो,कांग्रेसका केही नेता चुनावमा जान पाए ठीक हुन्थ्यो भन्ने सोचमा थिए,’उनले भने ।
आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । उनले महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम जसपाले गरेको बताए । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका महत्वपूर्ण उपलब्धीर अधिकार संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । प्राप्त उपलब्धी रक्षा गर्दै बाँकी रहेका अधिकारका लागि लड्नुपर्ने उनले बताए ।
पार्टीका वरिष्ठ नेता अशोक राईले पहिचानको संघीयता र प्रदेशलाई स्वायत्त बनाउनुपर्ने जसपाको माग रहेको बताए । उनले न्यायपूर्ण समाजको परिकल्पनाको साथ जसपाको निर्माण भएको बताए ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादव, नवराज सुवेदी, नर्सिङ चौधरी, अमृता अग्रहरी, सहसराम यादव, अशोक कुमार यादव लगायत नेताहरुले महन्थ ठाकुर समूहले प्रतिगमनलाई साथ दिएको बताए । उनीहरुले खोक्रो नाराले उत्पीडित नागरिकको माग पुरा हुन नसक्ने दावी गरे । जसपा लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)