Logo बुधवार, श्रावण १३ गते २०८३
images

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने तयारीमा छाैँ : मन्त्री कल्पना पाण्डे

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने तयारीमा छाैँ : मन्त्री कल्पना पाण्डे

  • 3.1K
    SHARES

  • कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने तयारीमा छाैँ : मन्त्री कल्पना पाण्डे

    बुटवल,असार २० -

    लुम्बिनी प्रदेश सरकारका उद्योग,वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लुम्बिनीको प्रचारप्रसारमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । उनले पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका अझ महत्वपूर्ण रहेकोमा जोड दिइन् ।

    उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशको सह–आयोजनामा आइतबार भैरहवामा भएको वृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएकी हुुन् ।

    कार्यक्रममा उद्घाटन मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसारको लागि लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष समेत मनाएको बताइन् ।  प्रदेश सरकारले पर्यटनको विकासका लागि योजनाहरु अगाडी सारेको भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यसले पर्यटन क्षेत्र प्रभावित भएको छ, उनले भनिन् । लुम्बिनी आउने पर्यटकलाई देवदह, तिलौराकोट, रामग्राम, रानीमहल, सुपा देउराली, ठाकुरद्वारासहित लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरुसम्म पुर्याउन सके यसले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने मन्त्री पाण्डेले बताइन् ।

    प्रदेश सरकारले टुरिष्ट गाइड तालिमको सुरुवात समेत गर्न लागेको उनले जानकारी दिइन् । शुन्यबाट सुरु भएको प्रदेश सरकार अहिले देखिने अवस्थामा पुगेको उनको भनाइ थियो । नीजि क्षेत्रसंग सहकार्य गर्दै पर्यटन क्षेत्रको विकासको लागि अगाडी बढ्छौै, मन्त्री पाण्डेले भनिन् । संघीय, प्रदेश र स्थानीय सरकार हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिइन् । बुुद्धसंग सम्बन्धित स्थलहरुमा पर्यटक पुर्याउने वातावरण सिर्जना गर्न प्रदेश सरकारले लागिपरेको उनको भनाइ थियो ।

    कार्यक्रममा उद्योग, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. राजेन्द्र के.सी.ले ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र उजागर गर्न आवश्यक रहेको बताए । उनले लुम्बिनी प्रदेश पर्यटनको हिसाबले अपार सम्भावना बोकेको प्रदेश भएको बताए ।लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन प्याकेज बनाउनुपर्ने बताए ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले लुम्बिनीको प्रचारप्रसारमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिए ।नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीले पर्यटनको विकासका लागि सरकारी निकायले चासो र चिन्ता लिन नसकेको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले लुम्बिनीबारे सञ्चार माध्यमले उजागर गरेको बताइन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष निरु गौतमले वृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रले अत्यन्त प्राथमिकता दिएर समाचार सम्प्रेषण गरेको बताइन् ।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगानाले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताए । नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष वेनीमाधव बस्यालले लुम्बिनीसंगै रामग्राम र तिलौराकोटलाई पनि ध्यान दिनुपर्ने बताए ।

    अग्रज पत्रकार चेतन पन्तले लुम्बिनीको प्रचारप्रसार अझ व्यापक बनाउनुपर्ने बताए । भैरहवा मर्निङवाक ग्रुपका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले लुम्बिनी विकास कोष र सरकारले लुम्बिनीको विकासमा ध्यान दिनुपर्ने बताए ।

    समाजसेवी तथा अभिवक्ता प्रख्यात बञ्जाडेले पर्यटन क्षेत्रको विकासका लागि यातायात र सडकलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए। पत्रकार पशुपति यादवले लुम्बिनीको प्रचारप्रसारमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा ‘लुम्बिनी न्यूज फेस्टिवल’ कार्यक्रम आयोजना गरिसकेको बताए ।

    पत्रकार अनिल तिवारीले लुम्बिनीको विकासका लागि कपिलवस्तुलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने बताए । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीका निर्देशक यम बहादुर कुंवरको अध्यक्षता तथा टुकराज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा लुम्बिनी विकास कोषका अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरीले लुम्बिनी प्रदेशमा पर्यटन उद्योग र लेखक युवराज कंडेलले वृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

    यसबीच उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीद्वारा आयोजित वृहत्तर लुम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक खुल्ला अनुसन्धानात्मक लेख प्रतियोगिताका विजेताहरुलाई कार्यक्रममा सम्मान गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गितादेवी शर्मा,द्वितीय हुने शशि पन्थी र तृतीय हुने डा. न्यूमाया शेर्पालाई पुरस्कार प्रदान गरिएको छ ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ३० हजार, द्वितीयलाई रु. २० हजार र तृतीय हुुनेलाई १० हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले पुरस्कार प्रदान गरेकी थिइन् ।

    तीन जना पत्रकारलाई सम्मान

    यसैबीच सञ्चार क्षेत्रमार्फत पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीले तीन जना पत्रकारलाई सम्मान गरेको छ । निर्देशनालयले पत्रकार प्रकाश न्यौपाने, स्वेता गिरी र गोपी ज्ञवालीलाई नगदसहित सम्मान गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology