बुटवल,असार २-
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नेपालीले विश्वासको मत लिने प्रस्ताव बुधबार संसद सचिवालयमा दर्ता गरेका छन्।
उनले दर्ता गरेको प्रस्ताव शुक्रबारको संसद बैठकको कार्यसूचीमा राख्ने निर्णय भएको संसद सचिवालयका सचिव हरिराज पोखरेलले बताए। गत शनिबारमात्रै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
सोही दिन मुख्यमन्त्री नेपालीले ४ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए। संसदमा अहिले बजेट अधिवेशन चलिरहेको छ। संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
सरकार गठन भएको एक हप्ता नपुग्दै मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन्। चार दलीय गठबन्धन र एक स्वतन्त्र सांसदको समर्थनमा नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
विश्वासको मत लिएपछि बजेटमाथि छलफल हुने जनाएको छ। मुख्यमन्त्री नेपालीले मंगलबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)