बुटवल,जेठ २७-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा गरिने भाकलका आधारमा प्रदेशहरूमा सांसदको बलि चढाउने गरिएको बताएका छन् ।
प्रदेशसभामा विश्वासको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले कुन प्रदेशमा कसको बलि चढाउने भनेर काठमाडौंमा भाकल हुने र प्रदेशमा सोही अनुसारको बलि चढाउने गरिएको बताए ।
उनले गण्डकी प्रदेशमा त्यस प्रकारको नियति नदेखियोस् भन्ने कामना पनि गरे । उनले भाषण गरेको भरमा व्यवस्था विघटन नहुने दावीसमेत गरे ।
उनले भने, ‘त्यस्तो कुरा गर्ने हो भने परिवर्तन नरुचाएको शक्तिलाई बल पुग्छ, जनतामा निराश आउन सक्छ ।’ संविधानका प्रस्तावनामा भएका विषयहरु कसैले चाहेर पनि हटाउन वा खोस्न नसक्ने उनले प्रस्ट पारे ।
उनले प्रदेशसभालाई अरुले जे भन्यो त्यही बोल्ने ‘मैना चरीको बथान’ जस्तो बनाउन नहुने पनि जिकिर गरे । ‘हाम्रो कृयाकलापका कारण, अभिव्यक्त गर्ने विषयका कारण प्रदेशसभालाई मैनाचरीको बथानजस्तो बनाइरहेका छौं,’ उनले भने, ‘हामीबीच तिक्तता जति बढ्दैछ, हामी मैना चरीजस्तै हुन गइरहेका छौं ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)