बुटवल,असोज १८ ।
रुद्रगण धार्मिक संस्थाले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको बेत्रावती क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीयवासीलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो।
संस्थाका अनुसार पहिलो चरणमा असोज १९ गतेदेखि एक महिनासम्म बेत्रावतीस्थित त्रिशूली अस्पतालसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ। स्थानीय आवश्यकता र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविरलाई आवश्यक परे छ महिनासम्म निरन्तर सञ्चालन गर्ने योजना रहेको रुद्रगण धार्मिक संस्थाका अध्यक्ष कमल सापकोटाले नागरिक अनलाइनलाई जानकारी दिनुभयो।
स्वास्थ्य शिविरमा रुपन्देही आसपासमा स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न संस्था तथा स्वास्थ्यकर्मीको सहयोग रहनेछ। पहिलो चरणको शिविर सञ्चालनका लागि ओसीसरा स्वास्थ्य परामर्शका प्रमुख हाडजोर्नी विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय स्वास्थ्यकर्मीको टोली बेत्रावतीतर्फ प्रस्थान गरेको छ।
शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा ल्याब टेक्निसियनको सहभागिता रहनेछ। स्थानीयवासीले आवश्यकताअनुसार विभिन्न स्वास्थ्य सेवा, आवश्यक औषधि तथा प्रयोगशाला परीक्षणको सुविधा निःशुल्क प्राप्त गर्ने रुद्रगण धार्मिक संस्थाका उपाध्यक्ष तथा प्रतिनिधि मनिष पाण्डेले बताउनुभयो।
उहाँका अनुसार शिविरमा दिशा, पिसाब र रगत परीक्षणलगायतका प्रयोगशाला सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य शिविर सञ्चालनका लागि रुपन्देही तथा आसपासका क्षेत्रमा स्वास्थ्य सेवामा क्रियाशील ओसीसरा स्वास्थ्य परामर्श, QRBT बुटवल, A One Health KPL Diagnostic, ग्यास्ट्रो लिभर क्लिनिक, रोटरी क्लब, मेडिकोफ्युजन हाइब्रिड नेपाल, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल औषधि बिक्री तथा प्रतिनिधि संघ, हाम्रो स्वास्थ्य क्लिनिक र दीर्घायु फार्मेसी लगायतका संघसंस्थाको सहयोग रहेको संस्थाका सदस्य सन्तोष भण्डारीले जानकारी दिनुभयो।
बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले स्थानीयको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै नियमित तथा आवश्यकतामा आधारित स्वास्थ्य सेवा उपलब्ध गराउने रूद्रगणका मकुन्द पौडेलले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)