बुटवल,असार २४ ।
बुटवल नेपालगञ्ज रोडमा रहेको हैदरावादी दम विर्यानीमा प्लाष्टिकको पञ्जा भेटिएपछि उपभोक्तासँग भएको विबाद बुधबार मिलेको छ ।
होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघ रुपन्देही र बुटवल मोबाइल व्यवसायी संघको संयुक्त पहलमा बुधबार बसेको बैठकमा बिर्यानीका उपभोक्ता र संचालकबीचमा आपसी समझदारी सहित संचालकले गल्ती भएको स्वीकारेपछि विवाद समाधान भएको हो ।
होटल संघको कार्यालय देवीनगरमा बसेको संयुक्त बैठकमा हैदराबादी बिर्यानी हाउसका सञ्चालक जनक खड्काले कामदारको लापरबाहीका कारण बिर्यानीमा प्लास्टिकको पञ्जा परेको हुन सक्ने स्वीकार गर्दै आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाउनुभयो । केही दिनयता सामाजिक सञ्जालमा चर्चित बनेको उक्त विवाद अन्ततः आपसी सहमतिमा टुंगिएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र बुटवल मोबाइल व्यवसायी संघको पहलमा उपभोक्ता र सम्बन्धित व्यवसायीबीच छलफल गरी विवाद समाधान गरिएको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालका अनुसार दुवै पक्षबाट प्राप्त निवेदनका आधारमा छलफल गरी सहमति जुटाइएको हो ।
केही दिनअघि एक उपभोक्ताले घर लैजान खरिद गरेको मट्का बिरयानीमा प्लास्टिकको पञ्जा भेटिएको भन्दै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
नागरिक अनलाइनबाट सार्वजनिक भएको भिडियो भाइरल भएपछि प्रहरी, प्रशासन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सम्बन्धित बिरयानी हाउसको अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिएको थियो ।
सञ्चालक खड्काले घटनापछि व्यवसायमा उल्लेख्य गिरावट आएको बताउँदै सामाजिक सञ्जालमा विषय निरन्तर चर्चामा रहँदा आफूले व्यक्तिगत रूपमा समेत अपमानजनक टिप्पणी र आलोचना सहनुपरेको गुनासो गर्नुभयो ।
सम्बन्धित निकायबाट अनुगमन भइसकेपछि पनि विषयलाई अनावश्यक रूपमा उचालिँदा व्यवसायमा नकारात्मक असर परेको उहाको भनाइ छ ।
बिर्यानीमा पञ्जा फेला पारेका उपभोक्ता मुक्ति न्यौपानेले भने व्यवसायीबाट समयमै उचित प्रतिक्रिया नपाएपछि आफूले भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताउदै आउनु भएको थियो ।
त्यसपछि अपेक्षाभन्दा बढी नकारात्मक टिप्पणी, गालीगलौज र मानसिक तनाव झेल्नुपरेको उहाले सुनाउनुभयो । छलफलका क्रममा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, उपभोक्ताको गुनासोप्रति व्यवसायीको संवेदनशीलता तथा तथ्य पुष्टि नगरी सामग्री भाइरल बनाउँदा पर्ने सामाजिक र व्यावसायिक असरबारे पनि छलफल भएको थियो ।
विवाद समाधानका लागि बुटवल मोबाइल व्यवसायी संघका अध्यक्ष दिपेन्द्र पाण्डे, निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य शिवदेव अर्याल, महासंघका केन्द्रीय सचिव विष्णु ज्ञवाली, रुपन्देही कार्यावहाक अध्यक्ष कृष्ण आचार्य, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा सचिव तुल्सीराम पराजुलीले सहजीकरण गरेपछि विवाद समाधान भएको मोवाइल संघका बरिष्ठ उपाध्यक्ष शालिकराम क्षेत्रीले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)