Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अन्तर्वार्ता :‘भवन अग्लो र महंगो शुल्क हुँदैमा बिद्यालय र गुणस्तर राम्रो हुने होईन’: शंकर भण्डारी

अन्तर्वार्ता :‘भवन अग्लो र महंगो शुल्क हुँदैमा बिद्यालय र गुणस्तर राम्रो हुने होईन’: शंकर भण्डारी

  • 1.6K
    SHARES

  • अन्तर्वार्ता :‘भवन अग्लो र महंगो शुल्क  हुँदैमा बिद्यालय र गुणस्तर राम्रो हुने होईन’: शंकर भण्डारी

    बुटवल,चैत्र ।

    विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा परिचित नाम हो शंकर भण्डारी । लामो समय काठमाडौंका विभिन्न शैक्षिक संस्थामा अध्यापन र व्यवस्थापनमा नेतृत्व गरेका भण्डारी अग्रेजी साहित्यबाट विद्यावारिधि गर्दैछन् । हरेक बिषयलाई सामाजिक राजनीतिक र आलोचनात्मक दृष्टिबाट हेर्ने उनी हाल बुटवलमा छन् ।

    २ बर्षदेखि क्यानन माध्यमिक विद्यालय बुटवलका प्राचार्यका रुपमा काम गरेका उनले बुटवल पश्चिम नेपालकै महत्वपूर्ण सहर भएकाले यहाँ शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउने गरेका छन् । शिक्षा नै मुलुकको जग भएकाले बुटवललाई शिक्षामा अब्बल बनाउन अब व्यवस्थापनमा क्रान्तिको खाँचो रहेको उनको मत छ । शिक्षालाई निकै नजिकबाट नियालेका अध्येता तथा शिक्षाका जानकार शंकर भण्डारीसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश । 

    नयाँ शैक्षिकसत्र सुरु हुँदैछ, यो बेला विद्यार्थीहरु तानातान गर्ने बेला पनि भन्छन् ? खासमा शैक्षिकसत्र के हो ? 

    तानातान नै गर्नुपर्ने त होईन । तर, हामीले नै शिक्षा क्षेत्रलाई बस पार्कका होटल जस्ता बनायौं । विद्यालयहरूको सस्तो प्रचारबाजी र अस्वस्थ प्रतिस्पर्धाको नतिजा हो । सबै क्षेत्रमा भयो त भन्दिन तर, तपाईले भनेजस्तै अवस्थाबारे चिन्ता छ, यसलाई सुधार्न जरुरी छ। 

    तपाई काठमाडौं र बुटवल क्षेत्रमा दुई दशकदेखि नीजि शैक्षिक संस्थासँग जोडिनुभएको छ ? बिशेष गरी नीजि विद्यालयहरु शैक्षिक सत्रको सुरुमा विद्यार्थी तान्ने होडमा लाग्छन् भन्ने आरोप छ ? 

    शैक्षिक क्षेत्र ज्ञान निर्माण सँगै सबल र सक्षम मानव संसाधन उत्पादन गर्ने थलो हो । बेरोजगार जन्माउने कारखाना होईन । न कुनै शिक्षित मुर्खहरूको बसिबियाँलो गर्ने फल्चा हो ।  न त कालो धनलाई सेतो बनाउँन नेपालमा खुलेका तारे होटलका क्यासिनो जस्तो हो । यो बिद्यार्थी तान्न गरिने घिनलाग्दो होडबाजी काठ्माण्डौमा पनि छ । बुटवलमा पनि छ। मेरो अनुभवले बुटवलमा अझ बढी घिनलाग्दो छ । यहाँ के नीजि के सामुदायिक, यहाँ भर्नाको समयमा सबैले हदै सम्मको कुकृत्य गरेको पाउँछु म । त्यसैले अब विद्यार्थी खोज्न होईन, विद्यालय रोज्ने बनाउनुपर्छ । शिक्षालयलाई अब हामीले केन्द्रीत गराउनुपर्छ । 

    त्यसो भए, अभिभावक र विद्यार्थीहरुले कस्तो विद्यालय रोज्ने त ? 

    अभिभावक र बिद्यार्थी दुवै भीडको पछाडि लाग्नुहुँदैन । सस्तो प्रचारबाजीलाई विश्वास गर्नुहुँदैन।बिद्यालयको “स्ट्यान्डर्ड’’ भनेर बिल्डिङमा अन्य कुराहरू गौण हो । अनि महंगो शुल्क हुँदैमा बिद्यालय राम्रो हुने होईन । अभिभावक र बिद्यार्थी दुवै जनाले बिद्यालयको शैक्षणिक विधि कस्तो  छ ? बिद्यालय संचालन गर्नेको पृष्ठभूमी के हो ?

    घरदेखि बिद्यालयको दूरी कति छ ? अध्यापन गर्ने शिक्षकहरू कति योग्य छन् ? बिद्यालयको प्राचार्यले शिक्षा कति बुझेको छ ? अतिरिक्त गतिविधि र नयाँ–नयाँ कुराहरू कति सिक्न पाईन्छ ? बिद्यालयको सरसफाईको अवस्था कस्तो छ ? कतिको पारिवारिक वातावरण छ ? बिद्यालयका शिक्षण तथा गैर शिक्षण कर्मचारीहरूको बोली र व्यवहार कस्तो छ ? बिद्यालयको वातावरण कत्तिको समावेशी,खुला र प्रजातान्त्रिक छ ? बिद्यालयको शौचालय,चमेना गृह र पुस्तकालयको अवश्था कस्तो छ ? कक्षामा राखिने बिद्यार्थी संख्या कति हुने ? आदी कुराहरुमा विचार गर्नुपर्छ । 

    तपाई आफै पनि लेख्नुहुन्छ, पढ्नुहुन्छ । हाम्रो विद्यालयहरुले के पढाइरहेका छन् ? 

    हाम्रा बिद्यालयहरूले परिक्षाको निम्ति कोर्स पढाईरहेछन्। जीवनको निम्ति ज्ञान,सिप र संघर्ष पढाउनै बाँकी छ । त्यसलाई अब जोडन आवश्यक छ । 

    तपाई बुटवलको क्यानन माविको प्रधानाध्यापक पनि हुनुभयो ? काठमाडौंको नेश्नल कलेजमा पनि प्लानिङ डेभलपमेन्ट हेड भएर काम गर्नुभयो । यी अनुभवले बुटवलको शिक्षा कस्तो पाउनुभयो ? 

    मेरो अनुभवले बुटवलको शिक्षा अहिले भौतिक रूपले विकलाङ्ग, मानसिक रूपले अस्वस्थ,सामाजिक रूपले विघटित र वैज्ञानिक रूपले रूढी एवं कर्मकाण्डीय छ । हो, पचासको दशकको उत्तरार्धदेखि सत्तरीको दशकको पुर्वार्धसम्म यो क्षेत्र शिक्षाको हब नै थियो । त्यस यता हामी स्ट्यागनेन्ट भयौ । यहाँको शिक्षा क्षेत्र दूषित मान्छेहरुको कब्जामा छ ।

    शैक्षिक संस्थामा कस्तो नेतृत्व आवश्यक छ ? 

    शैक्षिक क्षेत्रमा शिक्षा बुझेको,यसैमा भिजेको,यो क्षेत्रलाई माया गर्ने मान्छेहरू हुनुपर्छ । अन्य अर्थ नलागोस, ग्यारेज चलाउनेहरू, चाउचाउ बेच्नेहरू, जग्गा दलाली गर्नैहरू, सेयर बजारका दलालहरू र ब्याज लगाएर पैसा कमाएकाहरूले बिद्यालयको नेतृत्व गर्न सक्दैनन । 

    प्राचार्यहरुकै बिषयमा बारम्बार प्रश्न उठछ नी ? कस्तो प्राचार्य हुनुपर्छ ? 

    बिद्यालयको प्राचार्य अत्यन्त संवेदनशील पद हो । यसलाई हल्का रुपमा बुझिनु हुँदैन । प्राचार्य सिँगो संस्थाको मनोविज्ञान हो । उसलाई कसैको कठपुतली बनाइनु हुँदैन । सञ्चालक समिति वा साहुको इशारामा मात्र नाच्ने प्राचार्य काम छैन । प्राचार्य एउटा विशिष्ट गुणसहितको पद हो ।  यसलाई कसैले पनि कारखानाको म्यानेजर,बैँकको सिईओ वा सरकारी अड्डाको हाकिम जस्तो ठान्नुहुँदैन । प्राचार्यसँग दृष्टिकोण हुनुपर्छ । लक्ष्य र कार्यक्रम हुनुपर्छ ।

    भाषामा मिठास र व्यवहारमा स्पष्टता हुनुपर्छ । सामाजिक,आर्थिक एवं राजनीतिक आदीको ज्ञान हुनुपर्छ । टिम परिचालन गर्ने खुबि हुनुपर्छ । अलि वैज्ञानिक र आलोचनात्मक चेत हुनुपर्छ । समान व्यवहार गर्ने र सबैलाई सम्मान गर्नै हुनुपर्छ । विश्व इतिहास बुझेको र पाठ्क्रम बारे राम्रो जानकारी हुनुपर्छ । सबैको मनोविज्ञान बुझ्न सक्ने हुनुपर्छ।प्रविधिमैत्रि हुनुपर्छ।मुख्यकुरा अध्ययनशील हुनुपर्छ । प्राचार्यको टेवलमा जगाको लालपूर्जा होईन,किताब हुनुपर्छ । साँझ परेपछि जाँड खाएर बाटैमा ढल्नेहरू,बिद्यार्थीलाई चिट चोर्न सिकाउनेहरू, परीक्षाको बेला सेन्टर किन्न हिड्नेहरू, शिक्षक तथा अन्य कर्मचारी र बिद्यार्थी–अभिभावकलाई मान्छै नठान्नेहरू प्राचार्य हुनुहुँदैन । 

    नेपालमा शैक्षिक गुणस्तरका बिषयमा प्रश्नहरु छन् ? त्यो नीतिगत रुपमा छदैछ, तर विद्यालयहरुले पनि विद्यमान कानुन अनुसार पनि गर्नुपर्ने काम होलान नी ? यसबारे के भन्नुहुन्छ ? 

    जब निगरानी गर्नै निकाय निकम्मा हुन्छ बनेका कानुन र विधिहरूको कार्यन्वयन फितलो हुन्छ । अहिलेसम्म शिक्षा क्षेत्र भईरहेको यही हो।पहुँच र भनसुनले सबै चलिराछ अहिलेसम्म ।

    बुटवल नतिजाको हिसाबले शैक्षिक हवका रुमा चिनिन्छ, तपाईको अनुभवमा अब यहाँ कस्तो विद्यालयको खाँचो छ ? 
    बुटवलमा शैक्षिक क्रान्तिकै खाँचो देख्छु म । बिशेषगरि पठन संस्कृति बढाउने,पढाउने शैलि बदल्ने, होरिजन्टल लर्निङ र कम्युनिकेटिभ पेडागोजीमा काम गर्नुपर्छ । कल्चरको नाममा बिद्यालयहरूमा हुने विकृतिलाई रोक्नुपर्छ । विज्ञानको विगविगीलाई रोकेर वैज्ञानिक र आलोचनात्मक चिन्तन बढाउनुपर्छ । सानै कक्षादेखि प्रविधिलाई जोड्दै जानुपर्छ । मुख्यकुरा बिद्यालय संचालन गर्नेहरू पहिला रूपान्तरित हुन जरूरी छ । 

    भर्खर नयाँ सरकार बनेको छ ? वर्तमान रास्वपा नेतृत्वको सरकारले कस्तो खालको शिक्षा नीति ल्याउन सक्छ ? 

    यो सरकार सुँझबुझ सहित अगाडि बढेजस्तो लाग्दैन । हचुवा र दबङ शैलीमा निर्णयहरू हुन सक्ने सम्भावना छ । यसो गरियो भने दिर्घकालिन असर पर्न सक्छ । बिना विकल्प हठातमा स्विच अन अफ गरेजस्तो हुकुमहरू जारि भयो भने यो प्रत्युत्पादक हुनेछ।यो सरकार नीजि लगानी प्रति अलि आक्रमक देखिएको छ। सरकारलाई यो राज्यको अर्थप्रणालीको अभ्यास के हो ? त्यसको आत्मामा के छ? एकपटक राम्रोसँग बुझ्न आग्रह गर्छु । बिशेष नीजि बिद्यालय र समग्र शिक्षा क्षेत्रमाथिको “बालहठ“ निकै महङ्गो पर्न सक्छ । शिक्षाक्षेत्र स्टन्ट गर्ने ठाउँ होईन।हो, मौजुदा विधि र कानुनको परिपालन गराउन कडाई गरोस त्यो सँधै स्वागतयोग्य छ ।

    IMG_9743.jpeg

    अबको शैक्षिक बाटो कस्तो बनाउनुपर्ला ? 
    अबको शैक्षिक बाटो विश्वबजारसँग प्रतिस्पर्धा गर्नै राजनीतिक र सामाजिक चेत भएको मानव संसाधन तयार गर्नै खालको हुनुपर्छ । त्यसको निम्ति पहिला के पढाउने र कसरि पढाउने भन्ने कुरा मै बढी जोड दिनुपर्छ । 

    अन्त्यमा शिक्षाबारे आम मानिसले कसरी बुझ्नुपर्ला ? के भन्नुहुन्छ ? 
    शिक्षा यथास्थितिबाट माथी उठाउने चेतना हो । आम मान्छेले यसलाई आफैलाई बदल्ने ज्यावलको रूपमा बुझ्नुपर्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology