बुटवल,माघ २४-
आज नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिरहेको हाे ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।
शनिबारको कार्यक्रम शुभेच्छुक संस्थाहरूले ७७ जिल्लाको सदरमुकाममा गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । शर्माले आन्दोलनका कार्यक्रममा व्यापकता सहभागिताका लागि समेत सबैमा अपिल गरेका छन् ।
कांग्रेसले प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने जानकारी दिएको छ ।
‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहने छ,’कांग्रेस प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)