बुटवल,पुस ७।
प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
उनले पत्रकार महासंघ पत्रकारहरुको मात्र संस्था नभई परिवर्तनका लागि भएका आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने संस्था समेत भएको बताए । उनले ठूला संगठनले दम्भ र सानाले हिनताबोध गर्न नहुने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका निवर्तमान अध्यक्ष रामराज पोख्रेलले महासंघको संस्थागत विकास जरुरी रहेको बताए ।
उनले महासंघलाई समयसँगै अझ गतिशील बनाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले निर्वाचनमा आफ्नो नेतृत्वको प्यानललाई मत दिएर विजयी बनाउनु हुने महासंघका सदस्यहरुलाई आभार तथा धन्यवाद व्यक्त गर्दै समग्र पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरुको हितका लागि सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
संयुक्त प्यानल निर्वाचन परिचालन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले पत्रकारलाई सक्रिय बनाउने काम महासंघको नेतृत्वको भएको बताउँदैे महासंघका राम्रा काममा साथ र समर्थन रहने बताए । प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारको हकहितमा अघि बढ्न नवनिर्वाचित टीमलाई बधाई दिए ।
नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपालले निर्वाचनमा संयुक्त प्यानललाई जिताउन प्रतिबद्ध भएर लागेको बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति, रुपन्देहीबाट प्रदेश तथा केन्द्रीय समितिमा निर्वाचित पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)