Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको आम्दा कहिलेसम्ममा बन्छ मेडिकल कलेज ?

बुटवलको आम्दा कहिलेसम्ममा बन्छ मेडिकल कलेज ?

  • 1.8K
    SHARES

  • बुटवलको आम्दा कहिलेसम्ममा बन्छ मेडिकल कलेज  ?

    बुटवल, साउन १८ ।

    बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेडिकल कलेज बनाउने तयारी भएको छ । बुधबार बुटवलमा बसेको एक बैठकले आम्दा इन्टरनेसनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरु सुगानामी सहभागी बैठकले यस्तो निर्णय गरेको हो । २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेसनलको सभाले अनुमोदन गरेपछि आम्दा इन्टरनेसनल मेडिकल कलेज बन्ने प्रक्रिया सुरु हुने छ ।

    यसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । अस्पतालको स्तरोन्नति, जनशक्ति उत्पादन गर्न मेडिकल कलेजका रूपमा अगाडि बढाउन लागिएको प्रमुख पाण्डेयले बताउनुभयो ।

    उहाँले आम्दा अस्पताललाई यस क्षेत्रकै सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने कलेजका रूपमा स्थापित गर्ने योजना अनुसार काम भइरहेको बताउनुभयो । अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्नका लागि सम्भाव्यता अध्ययन गरी प्रक्रियामा जाने उहाँले बताउनुभयो ।

    आम्दा इन्टरनेसनलका अध्यक्ष डाक्टर सुगानामीले बुटवलमा मेडिकल कलेज स्थापना गर्न पाउनु आम्दाका लागि गौरवको कुरा हुने बताउनुभयो । उहाँले चार वटै साझेदार संस्थाको सहकार्यमा आम्दाले बुटवलमा स्वास्थ्य जस्तो पवित्र क्षेत्रमा काम गर्न सकिरहेको स्मरण गर्दै सबैको साथ जरुरी रहेकोमा जोड दिनुभयो । 

    बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले आम्दा इन्टरनेसनल मेडिकल कलेज निर्माणका लागि सङ्घको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, आम्दा जापानका कार्यक्रम निर्देशक अर्चना जोशी र आम्दा नेपालका परियोजना निर्देशक सुरेश रेग्मीसहितको टोलीले अस्पताल अनुगमन गरी सेवाबारे जानकारी लिनुभएको छ ।

    त्यस्तै एक सय शय्यामा रहेको अस्पताललाई गत वर्षको जेठमा तीन सय शय्यामा स्तरोन्नतिका लागि आम्दा इन्टरनेसनलसँगको समझदारीमा नयाँ भवन निर्माण भइरहेको छ । आम्दा अस्पतालमा गत वर्षदेखि नर्सिङ, एचए र फार्मेसी विषयमा डिप्लोमा तहको अध्ययन सुरु भएको छ ।

    Amda.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology