बुटवल,असार १ ।
रुपन्देही उद्योग संघले आफ्ना सदस्यहरुलाई नयाँ प्रविधि र यसको सुरक्षा चुनँैतीबारे जानकारी दिन साइबर सेक्युरिटी सम्बन्धि तालिमको आयोजना गरेको छ ।
पछिल्लो समय अतिरन्जित ढंगबाट बैंक खाताहरु ह्याक गर्ने, सामाजिक सन्जालको दुरुपयोग गरेर उद्योगीव्यवसायीलाई दुःख दिने, विभिन्न नेटवर्किङबाट ब्यालमेल गरेर सताउने गरेकाले त्यसबाट जोगिन र मोबाइल तथा अनलाइन बैंकिङ चलाउँदा कसरी सचेत हुने भन्ने विषयमा सदस्यहरुलाई जानकारी दिन यसप्रकारको तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा स्वागत गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगी व्यवसायीहरुलाई विभिन्न प्रविधिको प्रयोग गरेर गलत काममा फसाउँदै आएकाले त्यो बारेमा जानकारी यसप्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले पछिल्लो समय विभिन्न उद्योगीव्यवसायीहरुलाई प्रविधिको प्रयोग गरेर विभिन्न अपराध कर्ममा लागेकाहरुले फसाउदै आएको र त्यो बारेमा संघमा धेरै गुनासा आएकाले विज्ञहरुलाई सँगै राखेर आधारभूत विषयहरुमा जानकारी दिइएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा आइटि विज्ञ रोमकान्त पाण्डेले प्रविधिको प्रयोग गरेर कसरी फसाउछन् र त्यसरी हुने गलत क्रियाकलापबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिनुभएको थियो । उहाँले प्रविधिको विकाससँगै सुरक्षा चुनौती पनि बढेकाले यसबारेमा सचेत हुनुपर्ने र यसका आधारभूत विषयमा जानकारी राख्नुपर्ने जनाउनुभयो । पाण्डेले हरेक व्यक्तिले नयाँ प्रविधिको प्रयोग गर्नै पर्ने भएकाले यसबाट जोगानुपर्ने विषयमा ध्यान दिन सुझाउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले धेरै उद्योगी व्यवसायीको आग्रह अनुसार यसप्रकारको तालिमको आयोजना गरेको र निकै सकृयतापूर्वक उद्योगी व्यवसायी र विभिन्न उद्योगमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको बताउनुभयो । कार्यक्रमको संयोजन कार्यसमिति सदस्य नारायण खनालले गर्नुभएको थियो । संघका महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)