बुटवल,जेठ ३२ ।
बुटवल ७ शिवनगर स्थित नन्दिनी गौशालामा अहिले करिब ८-९ सय चौपाया छन् । सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रूपमा बुटवलले सडकका चौपाया गौशालामा लगेको हो ।
लुम्बिनी प्रदेशका मुख्य शहरहरू छाडा चौपाया नियन्त्रणमा सकस परिरहेका बेला बुटवलमा भने सडकमा छोडिएका गाई गोरुको व्यवस्थापनको लागि सुरु गरिएको अभियानले सार्थकता पाउँदै गएको छ ।
बुटवलमा भने सडकमा छोडिएका गाई गोरुको व्यवस्थापनको लागि सुरु गरिएको अभियानले सार्थकता पाउँदै गएको हो ।बुटवलका मेयर खेलराज पाण्डेयको दैनिक बिहान गौशालाबाट शुरू हुन्छ । करिब ४ बजे गौशाला पुगेर गाइगोरूको स्याहार संभार र अवस्था हेरपछि मात्रै उनको मन शान्त हुन्छ । मेयर नै गौशालामा जान थालेपछि बुटवलका संघसंस्थाका मानिसहरू पनि दैनिक रूपमा दाना पानी बोकेर आउनेहरू पनि गौशालामा भेटिन्छन् ।
नगरप्रमुख पाण्डेयले भने –‘हामीले बुटवल भित्र रहेका गाई गोरुको व्यवस्थापन गरेका छौं, अब हामी हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु भित्रिन रोक्नेगरी काम गर्नेछौँ ।’
शुभकार्य वा कुनै अवसरमा गौशाला पुगेर गाईगोरुलाई घास, पराल र दाना उपलब्ध गराएर आहारमा सहयोग गर्न पाण्डेयको आग्रह छ । ‘गाई हाम्रो राष्ट्रिय जनावर हो । हामी हिन्दुले गाईलाई माताका रुपमा पूजा गर्छौ तसर्थ सबैले यसको व्यवस्थापनमा सहयोग गर्नुपर्छ’, उनले भने ।
पाण्डेयले सडकमा गाई गोरु देखेमा नगरपालिकालाई सूचना दिन र गौशालामा लैजान सहयोग गर्न आग्रह गरेका छन् ।जन्मदिन एवं बिभिन्न सुखद तथा बिभिन्न स्मृति दिवसका दिनमा गौशालामा गएर गौ आहार खुवाउने तथा सहयोग गर्ने परिपाटि अगाडि बढेको छ ।
‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं ।’उनको भनाइ छ ।गौशालामा छाडा गाईगोरुको व्यवस्थापनका लागि हेरालु पनि राखिएको छ ।आवश्यकता अनुसार थपघट हुने गरि हेरालु व्यवस्थापन भएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए ।
बुटवलले शुरु गरेको अभियानको शुरुवातमा केही दिनको लागि पराल र दानको व्यवस्थापन गरेर काम शुरु गरेको भएपनि पछिल्लो समय बिभिन्न क्षेत्रबाट सहयोगहरु समेत आउन थालेका छन् ।गौशालामा रहेका गाईगोरु बिरामी भईहाले पनि उपमहानगरका पशुपंक्षि महाशाखाका उपनिर्देशक एवं बरिष्ट पशु चिकित्सक झबिन्द्र बञ्जाडेको नेतृत्वको टिमले उपचार एवं अन्य कामहरु गर्दै आईरहेको छ ।
बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले आफ्नो जन्मदिनको अवसरमा गौशालामा सहयोग गरिन् । उनले सबैलाइ अभियानमा साथ दिन आग्रह गरिन् । अभियान अन्तर्गत गाईगोरु गौशालामा पुर्याइपछि बुटवलका सडकमा सहजै सवारीगुड्न पाएका छन् । सडकमा छाडिने गाई गोरुका हटेपछि सवारी दुर्घटनाको जोखिम कम भएको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)