बुटवल,चैत्र १८ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र एउटा अभूतपूर्व एकता चाहिएको बताउनुभएको छ । ‘समुदायमा काँग्रेस कार्यक्रम’ अन्तरगत यात्राका क्रममा शनिबार दाङको गढवामा सम्बोधन गर्दै सुस्ताएर बसेको समाजलाई भरोसा र विश्वास दिलाउनका लागि पार्टी भित्र एउटा अभूतपूर्व एकताको खाँचो परेको महामन्त्री थापाले बताउनु भएको हो ।
उहाँले अब यो भन्दा अगाडिको यात्रामा आउने चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले चुनाब चिन्ह रुख बाहेक अनेत्र कतै भोट हाल्नु नपर्नेपनि स्पष्ट पार्नु भयो । चुनाव अघि गरिने गठबन्धनले नेपालको राजनीति र लोकतन्त्रलाई विकृत बनाएको भन्दै थापाले त्यो सच्याउने तथा त्यो फोहर सफा गर्ने कामपनि काँग्रेस आँफैले गर्न जरुरी रहेको थापाको तर्क थियो ।
देश दुनिया भरबाट सहकारीको रकम लुट्ने लुटेराहरुले आज बाहिर बसेर काँग्रेसमाथि आरोप लगाइ रहेको देखेर सर्वसाधारण अलमलिएको भन्दै त्यसबाट सत्य बुझेर बाहिर निश्कन जरुरी रहेको महामन्त्री थापाले आग्रह गर्नु भयो । यतिखेर मुलुकको सबैभन्दा ठूलो समस्या समाजले गुमाएको आत्मविश्वास जगाउनु रहेको र त्यो काम काँग्रेसले गर्न सक्ने र गर्नुपर्ने जोड दिनुभयो ।
समुदायमा काँग्रेस अभियान यात्रामा निस्किएका महामन्त्री थापालाई गोबरडिहामा स्थानीय थारु नेता र सर्वसाधारणले झाँकीसहित स्वागत गरेका थिए । ‘थारु संवाद’ का लागि पूर्व शिक्षामन्त्री स्व. पर्शुनारायण चौधरीको ५५ झ्याले जिर्ण दरबार अगाडि उहाँले कार्यक्रम गर्नु भएको थियो । उहाँ शनिबार बेलुकी बाँके तर्फ लाग्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)