बुटवल,मंसिर २१ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गर्नुभएको छ । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो । उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो ।
विधेयक प्रमाणीकरण भएसँगै अब निजामती ऐन कार्यान्वयनमा आउनेछ ।लुम्बिनी प्रदेश गृह मन्त्रालयका कानुन उपसचिव खिमानन्द ज्ञवालीले प्रदेशको सञ्चार नियमावली निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँका अनुसार अबको एक महिनाभित्र त्यसले पूर्णता पाउनेछ । पाल्पा विकास केन्द्रले आज भालुवाङमा आयोजना गरेको सूचनाको हक, सञ्चार विषयवस्तु र नीतिपात्रोसम्बन्धी संवाद कार्यक्रममा उपसचिव ज्ञवालीले सञ्चार नियमावली पारित भएमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना हुने र प्रदेशबाटै सञ्चार माध्यम दर्ता तथा नियमन हुने बताउनुभयो ।
त्यस अवसरमा सहभागी मन्त्रालय तथा कार्यालयका सूचना अधिकारीहरूले पत्रकार र सूचना अधिकारीहरूबिच सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । पत्रकार तथा नागरिकले सूचना माग गर्दा सकारात्मक उद्देश्यले माग गर्नुपर्ने राप्ती गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले धारणा राख्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)