बुटवल,पुस ३-
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
उनले भने, ‘सरकारले संवैधानिक परिषद्सम्बन्धी जुन अध्यादेश ल्याएको छ यो संविधानको भावना र मर्मविपरीत छ । यो संविधानको व्यवस्था र भावना, मर्म विपरीत ल्याएको अध्यादेश तत्कालै सरकारले फिर्ता लेओस् । संविधानको व्यवस्थामाथि कुनै खेलबाड नगरोस् । यो स्वीकारयोग्य छैन । फिर्ता हुनुपर्छ ।’
त्यसैगरी संसद्को अधिवेशन बोलाउने वेला भइसक्दा पनि सरकारले अधिवेशन बोलाउन चासो नदेखाएको प्रमुख सचेतक खाणको भनाइ छ । बैठकले संसद् अधिवेशन अविलम्ब बोलाउनसमेत माग गरेको बताए ।
उनले भने, ‘अविलम्ब जनताका समस्यालाई छलफल गर्नका लागि, जनतालाई भरोसा र विश्वास दिलाउनका लागि, सरकारको कमी–कमजोरीलाई परिमार्जन गर्दै सरकारको क्रियाशीलताका निम्ति सदनको अधिवेशन अविलम्ब बोलाउनुपर्छ ।’
बैठकले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार पूर्ण रूपमा असफल भएको निष्कर्षसमेत निकालेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापनमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ ।
कोरोना नियन्त्रणको नाममा अनियमितता गर्नेहरूलाई कारबाही गर्न पनि बैठकले माग गरेको छ । प्रमुख सचेतक खाणले भने, ‘कोरोना महामारीको व्यवस्थापन गर्न सरकार पूर्णतः असफल भएको छ । आमनागरिकको जीवन रक्षा गर्ने सरकारको पहिलो दायित्व हो ।
कोरोना नियन्त्रण, व्यवस्थापन र संक्रमितको उपचारमा सरकार गम्भीर छैन, आर्थिक अनियमितता र भ्रष्टाचार गरिराखेको छ । यो अनियमितता, भ्रष्टाचार गर्ने पदाधिकारीलाई कारबाही गरोस् ।’
यसैगरी उखु किसानले भुक्तानी नपाएर गरिरहेको आन्दोलनमा नेपाली कांग्रेसले समर्थन गर्ने निर्णयसमेत बैठकले गरेको उनको भनाइ छ । उखु किसानको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने पनि उनले बताए । ‘उखु किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् ।
किसान प्रताडित भएर धर्ना बसिरहेका छन् । उखु किसानले गरेको आन्दोलनको समर्थन गर्दछौँ । आन्दोलनलाई सरकारले ध्यान देओस् र किसानले उखुको भुक्तानी पाऊन् । सरकारले गम्भीरताका साथ प्रयत्न गरोस् ।’
बैठकले केही समयअघि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको घटनालाई निन्दनीय र दुःखद घटना भन्दै भर्त्सना गरेको छ ।
यस्ता हिंसात्मक घटनालाई रोक्दै दोषीउपर कारबाही गर्न बैठकले माग गरेको छ । प्रमुख सचेतक खाणले भने, ‘कुनै पनि नागरिकलाई, जनतालाई कसैले पनि कुनै पनि बाहानामा जीवनमाथि आक्रमण गर्न पाइँदैन । हत्या, हिंसा गर्न पाइँदैन । यस्तो हिंसात्मक घटना रोकियोस् र श्रेष्ठको हत्या गर्नेलाई सरकारले कारबाहीको दायराभित्र ल्याओस् ।’
नेता खाणले वर्तमान सरकार चौतर्फी रूपमा असफल भएको भन्दै निरंकुश सोचले ल्याएको अध्यादेश फिर्ता गर्नुपर्नेसमेत बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)