बुटवल,चैत्र ६ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसद्मा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको हो ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा जानेबारे छलफल अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो । यसैबीच नेकपा एसले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा चयन गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
महासचिवमा भुसाललाई चयन गर्दै महासचिव रहनुभएका डा. वेदुराम भुसाललाई आइतबारदेखि नै लागू हुने गरी उपाध्यक्षमा मनोनीत गरिएको छ । पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले पार्टीको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले पार्टीका चार जना केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथप्रसाद शाह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रीय सचिवालयको सङ्ख्या १९ पु¥याएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)