बुटवल,मंसिर २० ।
लुम्बिनी प्रदेश मुकाम बुटवलमा रहेका सरकारी कार्यालयका सामान रातारात दाङ देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने छ भने दाङमै खुल्ने जनाइएको छ ।
बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू राजधानी दाङ पुर्याइएको हो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने प्रवक्ता शर्माले बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने ।
३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको हो ।
सोमबार राति १०:३० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको छ ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित ४ सांसदहरू लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।
यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर ल्याउने चेतावनी समेत दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)